धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जनता समाजवादी पार्टी नेपाल धनकुटाका उम्मेदवार आइतराज लिम्बुले कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजना समावेश गरी आफ्नो घोषणा पत्र सनिवार सार्वजनिक गरेका छन् ।
धनकुटामा पत्रकार सम्मेलन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । बाँदर, बँदेललगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न कानुनी नियन्त्रणको व्यवस्था गरिने बताइएको छ ।
त्यस्तै खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि जिल्लामा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ जस्ता साहसिक खेल सञ्चालन गर्ने तथा प्रत्येक पालिकामा व्यवस्थित खेलमैदान निर्माण गर्ने योजना अघि सारिएको छ । उद्योगतर्फ स्थानीय सीप र स्रोतमा आधारित औद्योगिक ग्राम स्थापना गरी स्वरोजगारको वातावरण बनाउने, १ सय शैयाको मेडिकल कलेज स्थापना, १ हजार सिट क्षमताको सभाहल, धनकुटाको वेलहरामा एयरपोर्ट, धनकुटासंग जोडिने कोशी करिडोरको याक्चना देखि तमोर नदीमा पक्कि पुल, याक्चाना देखि त्रिवेणीचोकसम्म पक्कि सडक निर्माण तथा धनकुटालाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
राजनीतिक, पूर्वाधार, पर्यटन, सांस्कृतिक संरक्षण, खानेपानी, सिँचाइ तथा कृषि विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता लिम्वूले जनाए । त्यस्तै धनकुटाको समग्र विकासका लागि सङ्घीय नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै कोशी प्रदेशको नामकरण, पहिचानका मुद्दा, स्थानीय जातीय तथा भाषिक समुदायको अधिकार र संरक्षणका विषयलाई उठाउने प्रतिबद्धता गरिएको छ ।
किराँत–आठपहरिया समुदायको ऐतिहासिक थातथलो संरक्षण, भाषा प्रवद्र्धन तथा सांस्कृतिक क्षेत्रको विकासका वृहत कार्यक्रम अघि सारिएको छ । जनता समाजवादी पाटी नेपालका केन्द्रिय सह–अध्यक्ष एवं समानुपातिक उम्मेदवार साथै पुर्व मन्त्रि रकम चेम्जोङले समग्र धनकुटाको विकासको लागी यी योजना अघिसारिएको बताए । पत्रकारहरुको जिज्ञासा मेटाउँदै सह–अध्यक्ष चेम्जोङ्गले भने–‘जनता समाजवादी पार्टी नेपालले नेपाली जनताको जनजिविकाको साझा मुद्धासंगै पहिचानको मुद्धा स्थापित गर्न संघर्ष गर्दै समृद्धि तर्फ अघि बढ्ने गरी आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ ।‘
जनता समाजवादी पार्टी नेपाल धनकुटाका उपाध्यक्ष सरोज आठपहरियाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रिय सचिव राजकुमार राई, केन्द्रिय सदस्य पार्वती राई, जिल्ला सचिव डम्बर कटुवाल, लिम्वूवान राज्य समितिका प्रदेश सदस्य सोनिका आठपहरिया लगायतको उपस्थिति रहेको थियो ।
- dhankutapress