धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ नो कोशी, नो केबलकार र सेभ मुक्कुमलुङ्गमा प्रतिवद्धता नजनाउने दलका उम्ेमदवारहरुलाई भोट नदिन किरात याक्थुङ चुम्लुङले आफ्नो समुदायमा आव्हान गरेको छ ।
किराँत याक्थुङ्ग चुम्लुङ्ग जिल्ला शाखा धनकुटाले आगामी फागुन २१ गते हुन गर्यरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १५ बुँदे अपिल सार्वजनिक गर्दै यस्तो आव्हान गरेको हो । चुम्लुङ्गले सनिबार धनकुटामा पत्रकार सम्मेलन गर्दै ‘पार्टी र जातिभन्दा माथि उठौं, हाम्रो एजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताऔं” भन्ने नारासहित सार्वजनिक अपिलमा याक्थुङ लिम्बू आदिवासी समुदायका सवाल तथा मुद्दालाई प्राथमिकताका साथ उठाइएको हो । चुम्लुङले याक्थुङ लिम्बू समुदायको ऐतिहासिक भूगोल, पहिचान, भाषा, संस्कृति र अधिकारसँग सम्बन्धित विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेको छ ।
अपिलमा अरुणपूर्व ९ जिल्ला लिम्बुवान राज्य स्थापनाको ऐतिहासिक सन्दर्भ, नामाङ्गकनको विषय, मातृभाषा शिक्षाको कार्यान्वयन, आदिवासी अधिकारसम्बन्धी कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयनको लागी माग गरिएको छ । त्यस्तै, पत्रकार सम्मेलनमा जारी अपिलमा अन्तराष्ट्रिय मापदण्डअनुसार आदिवासीहरूको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय घोषणा–पत्र अनुरूप कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । मुक्कुमलुङ्ग, खुवालुङ्ग जस्तो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, अतिक्रमित भूमि फिर्ता, प्राकृतिक स्रोतसाधनमा समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषय गम्भिर ढंगले समेटिएको छ ।
किराँत याक्थुङ्ग चुम्लुङले सरकारी सेवामा समानुपातिक तथा प्राथमिकताका आधारमा प्रतिनिधित्व, मातृभाषामा शिक्षा, सार्वजनिक कार्यालयहरूमा किराँत सिरिजंगा लिपि र याक्थुङ भाषाको प्रयोग, तथा आदिवासी अधिकार आयोग गठनको माग गरेको छ । यसैगरी, विगतमा भएका नो कोशी र नो केबलकार आन्दोलनका क्रममा विना कारण पक्राउ गरी लगाइएका मुद्दा फिर्ता लिनुका साथै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषय पनि अपिलमा समावेश छ ।
चुम्लुङले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना एजेन्डाप्रति स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै ती एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई आफ्नो समुदायाले समर्थन गर्ने जनाएको छ । किरात याक्थुङ चुम्लुङ धनकुटाले निर्वाचनलाई आदिवासी अधिकार र पहिचानको सवालसँग जोड्दै मतदातालाई सजग र जिम्मेवार ढंगले मतदान गर्न अपिल गरेको चुम्लुङ अध्यक्ष हेमकुमार आङ्गलाले जानकारी दिए । पत्रकार सम्ेमलनमा कियाचु केन्द्रिय सदस्य चन्द्रसिं नेम्वाङ्ग, जिल्ला सचिब शिव कुमार तिगेला, जिल्ला कोषाध्यक्ष सरस्वती लिम्वू, नगर अध्यक्ष नेमराज ताम्ली, सचिव डम्वर खवाहाङ्ग लगायतको उपस्थिति रहेको थियो ।
- dhankutapress