धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको सरकार संविधान विपरित गठन भएकाले कुनै पनि हालतमा निर्वाचन गराउन नसक्ने ठोकुवा गरेका छन् ।
एमाले धनकुटाको शक्ति प्रदर्शन पछि आयोजित सभालाई सम्वोधन गर्दै मुख्य मन्त्री कार्कीले भने–‘वर्तमान सरकार चुनाव गराउन भन्दा पनि संघीय संविधानलाई खारेज गर्ने पक्षमा रहेको छ ।’ नेकपा एमाले धनकुटाले धनकुटामा सनिवार गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री कार्कीले यस्तो बताएका हुन् । सरकार चुनाव गराउन भन्ने तर चुनाव गराउने भन्दा पनि राष्ट्रलाई कसरी असफल गराउने भन्ने तर्फ मात्र अहिलेको सरकार लागेको अरोप समेत लगाए ।
मुख्य मन्त्री कार्कीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितीमा एमाले अध्यक्ष केपी शर्मा ओली बयान दिन नजाने समेत प्रष्ट पारे उनले भने–‘सरकारले निष्पक्ष आयोग गठन गरे कानुन र विधीलाई सघाउन एमाले तयार छ ।’ फरक प्रसंगमा बोल्दै एमाले नेता कार्कीले माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई सबैभन्दा बढी धोका दिएकोले नेपालले गरेका यस्ता कार्यमा क्षमा दिन नसकिने बताए ।
धनकुटाको एमालेको प्रदर्शन पछि आयोजित सभालाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री राजेन्द्र कुमार राई, एकिकृत समाजवादीबाट समायोजन भएर एमालेमा आएका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको संचालन नेकपा एमाले धनकुटाका सचिव पर्शूराम नेपालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष शिव आङलाले गरेका थिए । शक्ति प्रदर्शनमा एमालेका हजारौं कार्यकर्ता जुलुसमा उत्रिएका थिए ।
- dhankutapress