धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) जिल्ला समिति धनकुटाले नेपालमा जेन जी पुस्ताले गरेको विद्रोही चेतनाले राष्ट्रिय राजनीतिक मञ्चमा पुरानो सत्ता संरचना र दलाल व्यवस्थालाई चुनौती दिएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले वुधवार धनकुटामा पत्रकार सम्मेलन गर्दै एक विज्ञप्ती मार्फत यस्तो जनाएको हो । विज्ञप्तीमा भनिएको छ–‘जेन जीको प्रदर्शन पछि अन्तरिम सरकार जनताको विजय नभई विदेशी हस्तक्षेपको उत्पादन हो ।’
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सचिव विशाल सीले जेन जी आन्दोलन र नेपाली जनताको अपार बलिदानलाई वेवास्ता गर्दै भ्रष्टचार, राष्ट्रघात, तस्करी र दलाल विरुद्धको संघर्षलाई सम्वोधन गर्नुको सट्टा पुरानो राज्य संयन्त्रलाई निरन्तरता दिएको आरोप लगाएका छन् । उनले भने–‘वर्तमान शुसीला कार्कीको नेतृत्वमा वनेको अन्तरिम सरकार कुनै समाधान होईन, दलाल पुजीवादी हस्तक्षेपकारी गठवन्धनको प्रत्यक्ष उपज मात्र हो ।’
विज्ञप्तीको अन्त्यमा भनिएको छ–‘नेपालको निकास नयाँ मन्त्रिपरिषद वा सरकार बनाउने नभै बरु नयाँ राज्य संरचना, संविधान पुनर्लेखन र प्रतक्ष्य निर्वाचित कार्यकारी हुँदै समाजवाद सहितको स्वधीन, आत्मनिर्भर व्यवस्था निर्माण गर्नु हो ।’ नेपाल कम्युनिष्ट पार्टीले विदेशी हस्तक्षेप, दलाल गठवन्धन सरकारको भण्डाफोर गर्दै नेपाली युवाशक्ति र जनसमुदायलाई क्रान्तिकारी बाटोमा संगठित गर्दै अघि वढ्ने रहेको सचिव विशाल सीले पत्रकार सम्मेलनमा बताएका छन् । उनले नेपाली जेन जी आन्दोलनलाई समर्थन गर्दै विदेशी हस्तक्षेप र अन्तरिम दलाल सरकारलाई चेतावनी दिदै भने–‘विदेशी दलालको हस्तक्षेप र इशारामा अघि वढे हाम्रो संगठनलाई मान्य हुदैन ।’
- dhankutapress