धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जनता समाजवादी पार्टी नेपालका सह–अध्यक्ष रकम चेम्जोङले ३६ वर्षदेखि आलोपालो सत्तामा पुगेका परम्परागत दलहरुको शासन व्यवस्थाले देशलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर बनाएको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल, धनकुटाले उम्मेदवार आइतराज चेम्जोङ लिम्बूको घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका चेम्जोङले पार्टीले आगामी निर्वाचन मार्फत स्पष्ट विकल्प दिने बताएका हुन् । बहुदलीय व्यवस्था स्थापना भएयता सत्ता सञ्चालन गरेका मुख्य दलहरु कांग्रेस र कम्युनिष्टहरुले शासन सञ्चालन गरे पनि अपेक्षित आर्थिक समृद्धि दिन नसकेको चेम्जोङले दाबी गरे । उनका अनुसार २०४७ सालपछि पालैपालो सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्रीहरू जस्तै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, सुशील कोइराला लगायतका नेतृत्वमा सरकार बने पनि मुलुक दक्षिण एसियाकै कमजोर अर्थतन्त्र भएको देशको रूपमा खुम्चिएको आरोप लगाए ।
“३६ वर्षअघि हामी बंगलादेश, भुटान वा माल्दिभ्सभन्दा अघि थियौँ। आज आर्थिक सूचकांकमा पछाडि परेका छौँ। उद्योग–धन्दा बन्द भए, बेरोजगारी बढ्यो, युवाहरू विदेश पलायन हुन बाध्य भए ।,” उनले भने, “देश रेमिटेन्समा टिकेको अवस्था सिर्जना हुनु विगतका शासकहरूको असफलता हो ।” उनले भ्रष्टाचारको जालो यति गहिरो बनेको दाबी गर्दै “पैसा बाकस वा सेफमा मात्र होइन, गोदाममै थन्क्याइने अवस्था आएको” टिप्पणी गरे । यस्तो अवस्थाका लागि विगतका सत्ताधारी दलहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
चेम्जोङले “जेन्जी आन्दोलन” ले परम्परागत दलप्रति असन्तुष्टि उजागर गरेको उल्लेख गर्दै आगामी निर्वाचन जनताले विकल्प रोज्ने अवसर भएको बताए । “जनता विकल्प खोजिरहेका छन्। कसैले नयाँ दल रोज्लान्, कसैले स्वतन्त्र उम्मेदवार रोज्लान्। तर ३६ वर्षदेखि दोहोरिँदै आएको सत्ता चक्र दोहोरिनु हुँदैन,” उनले भने । उनका अनुसार जसपा नेपाल जेन्जी आन्दोलनभन्दा अगाडिदेखि नै भ्रष्टाचार, अन्याय र उत्पीडनविरुद्ध संघर्षरत रहेको दाबी छ । आदिवासी, मधेसी, दलित, महिला तथा पिछडिएका समुदायका अधिकारका पक्षमा निरन्तर आन्दोलन गर्दै आएको चेम्जोङको भनाइ छ ।
जसपा नेपाल विचार र एजेन्डाका हिसाबले वैकल्पिक शक्ति भएको दाबी गर्दै उनले भने, “नयाँ–पुरानो भन्दा पनि विचार र चरित्र महत्वपूर्ण हुन्छ । परम्परागत दलको व्यवहार र प्रवृत्तिले देश अघि बढ्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ ।” स्थानीय तहको सन्दर्भमा विकास निर्माण, पूर्वाधार विस्तार र समावेशी नीतिलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्दै उनले विगतमा आफू निर्वाचित हुँदा धनकुटामा थालिएका पूर्वाधार आयोजनाहरू उदाहरणीय रहेको दाबी गरे । “हाम्रो एजेन्डा, प्रतिबद्धता र कार्यक्रम नै जितको आधार हो,” उनले भने, “धनकुटाको समृद्धि र उन्नतिका लागि जसपा नेपालको आवश्यकता छ भन्ने जनताले महसुस गर्नेछन् ।”
पत्रकारहरुले सोधेको प्रश्नको उत्तरदिँदै पूर्वमन्त्री चेम्जोङले धनकुटा गाँजा सम्बन्धी मुद्दामा सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक भएको उल्लेख गर्दै गाँजा खेती र प्रयोगबारे पुनर्विचार आवश्यक रहेको बताए । “धेरै मानिस जेलमा छन्, धेरै लगानी खेर गएको छ ।” उनले भने “यसलाई केवल ‘ड्रग्स’को रूपमा मात्र हेर्ने होइन, औषधीय तथा आर्थिक सम्भावनाका रुपमा पनि अध्ययन गर्नुपर्छ ।,” विश्वका कतिपय देशमा नियमनसहित गाँजाको प्रयोगलाई कानुनी मान्यता दिइएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पनि नियमनसहित वैधीकरणबारे गम्भीर बहस आवश्यक रहेको बताए ।
- dhankutapress