धनकुटा प्रेस सम्वाददाता
मिङ्गमा लामा
धनकुटा/निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटा आईपुगेका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिलाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको सभाहलमा मंगलवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक समाजले हातेमालो गरी आपसी भाईचाराको भावनाका साथ अगाडी बढ्नु पर्ने बताए । उनले धनकुटा जिल्लाको ग्रामिण बस्तिहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालन भएको सचेतनामुलक कार्यक्रमहरुमा सबैको सहभागिता आवश्यक रहेको औल्याए ।
उनले धनकुटा जिल्लामा प्राकृतिक रुपमा नभई स्थानियवासीले लगाईएका लागू औषध गाँजाको बोटहरु फडानी गरी नष्ट गर्नेमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले अवैध गाँजा खेतीलाई निरुत्साहित बनाउन समेत उपस्थित सम्पुर्णलाई अनुरोध गरे । कार्यक्रममा उनले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको विषयगत अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई, धनकुटाका विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, स्थानीय व्यवसायी, शिक्षक, नागरिक समाज, संचारकर्मी, पुर्व प्रहरी कर्मचारीहरु लगायतकाको उपस्थिति रहेको थियो ।
- dhankutapress