धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जिल्ला सदरमुकाम धनकुटा बजारमा उपयोग भईरहेको खानेपानी मुहान क्षेत्रको सरोकारवाला निकाय र उपभोक्ताहरुले प्रत्यक्ष रुपमा स्थलगत रुपमा अनुगमन गरिएको छ ।
पूर्व खानेपानी मन्त्री तथा धनकुटाबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईको नेतृत्वमा भएको अनुगमनमा मुहान संरक्षण, पानीको स्रोतको अवस्था र दीर्घकालीन व्यवस्थापनका विषयमा समेत वृहत छलफल गरिएको छ ।
धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धनकुटा बजारमा खानेपानी आपूर्ति गर्ने विभिन्न मुहानको उपभोक्ता सहित प्रत्यक्ष स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो । पूर्व खानेपानी मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा भएको अनुगमनमा छरछरे तीनदोभाने, लुङधाङ खोला, आइतबारे खोला, रानिवन र मुढे मुहानको निरीक्षण गरिएको छ । अनुगमनका क्रममा मुहान क्षेत्रको संरक्षण, पानीको स्रोतको वर्तमान अवस्था, पानीको दिगोपना तथा भविष्यमा खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन गरिएको छ । धनकुटा बजारलाई सहज खानेपानी उपलब्ध गराउने योजनाका साथ अनुगमनमा सहभागी भएको प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले बताए ।
अनुगमनको मुख्य उद्देश्य बर्खायाममा बजार क्षेत्रमा आउने धमिलो पानीको वास्तविक कारण पहिचान गर्नु, खानेपानीका संरचनाहरुलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा अध्ययन गर्नु तथा भविष्यमा आवश्यक स्तरोन्नतिका योजनाका लागि सुझाव संकलन गर्नु रहेको थियो । विशेषगरी धनकुटा बजारका लागि नगरपालिकाको वडा नं. १, २ तथा छथरजोरपाटीको ताङखुवाका क्षेत्रमा खानेपानीका मुहानहरु रहेका छन् । यी क्षेत्रमा बाक्लो बस्ती, खेतीपाती र धेरै ग्रामीण सडकहरु रहेका कारण वर्षायाममा माटो बगेर मुहानमा पुग्ने समस्या रहेको छ । मुहान आसपासका सडक कालोपत्रे भएमा करिब ७० प्रतिशतसम्म पानी धमिलो हुने समस्या घट्ने विश्वास गरिएको छ । जसको लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन सर्वपक्षीय अनुगमन गरिएको खानेपानी उपभोक्ता समितिका सचिब अर्जुन छाराहाङ आठपहपरयाले बताए ।
धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धनकुटाको लहरे चौतारमा १ करोड ७ लाखको लगानी फिल्टर ट्यांकी सहितका संरचना निर्माण गरिरहेको छ । धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब ३ हजार ८ सय उपभोक्ता आवद्ध रहेका छन् ।
- dhankutapress