धनकुटा प्रेस सम्वाददाता
धनकुटा/उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८२/०८३ मा ३ सय १० थान मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतले बिहीबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षमा ३ सय ६० थान मुद्दामध्ये ३ सय १० थान फछ्र्यौट गरेको जनाएको हो । अदालतमा एक वर्षको अवधिमा ८६ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको जनाएको छ। अदालतमा सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतले जनाएको छ ।
उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहतका अदालतबाट गत साउन १९ गतेदेखि हरेक मुद्दाको फैसला अनलाइनमा अपलोड थालिएको छ। जसले प्रविधिको प्रयोग मार्फत घरमै हेर्न पाइने तथा एक जिल्लाको फाइल नजिकको अदालतबाट लिन पाइने व्यवस्था भएको अदालतका रजिष्ट्रार शोभाकर खरेलले जानकारी दिए ।
यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रुपमा मुद्दा फछ्र्यौट गरेका छन् । जसअनुसार धनकुटा जिल्ला अदालतले ८६ दशमलव ०३, तेह्रथुम जिल्ला अदालतले ८३ दशमलव ४२, भोजपुर जिल्ला अदालतले ८१ दशमलव ३४ र संखुवासभा जिल्ला अदालतले ६६ दशमलव ८७ प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् ।
धनकुटा जिल्ला अदालतले ७ सय ५९ मा ६ सय ५३, तेह्रथुम जिल्ला अदालतले ३ सय ८० मा ३ सय १७, भोजपुर जिल्ला अदालतले ५ सय २० मा ४ सय २३ र संखुवासभा जिल्ला अदालतले ६ सय ५२ मा ४ सय ३६ थान मुद्दा फछ्र्यौट गरेको उच्च अदालत विराटनगर धनकुटा इजलासले जनाएको छ । अन्तरक्रिया कार्यक्रम उच्च अदालत धनकुटाका माननीय मुख्य न्यायधिश कृष्णलाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सो अवसरमा माननीय न्यायधिश मस्ना गौतम सेँडाईको पनि उपस्थिति रहेको थियो ।
- dhankutapress