धनकुटा प्रेस सम्वाददाता
धनकुटा/पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले धनकुटामा कांग्रेस क्षेत्रिय सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ आन्द्रुङका पर्शुराम कार्की रहेका छन् । वुधवार विहान आफ्नै निवासबाट पक्राउ परेका कार्कीलाई जिल्ला अदालत धनकुटाले ५ दिन म्याद थप गरी हिरासदमा राखि अनुशन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार रेडियो धनकुटा एफएमका स्टेशन मेनेजर गोपाल बराइलीलाई समाचार लेखेको विषयलाई लिएर धम्की दिएको आरोपमा कार्कीलाई पक्राउ गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका बराइली दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष रहेका छन् । बराइलीलाई कार्कीले सामाजिक सञ्जाल मेसेन्जरमा जातिय रुपमा गालि गर्दै परिवार र ज्यानको ख्याल गर भन्दै धम्की दिएका थिए ।
बराइलीले गत असार ४ गते राहदानी छपाइ प्रकरणको बारेमा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका नाति तथा नेपाली कांग्रेशका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको बारेमा समाचार धनकुटा एफएम डटकममा प्रकाशित गरेका थिए ।
समाचार सार्वजनिक भएपछि कार्कीले बराइलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिने गरेको आरोप छ । धम्की र दबाब बढेपछि पत्रकार बराइलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए । त्यसपछि नेपाल पत्रकार महासंघ, धनकुटा शाखा, कोशी प्रदेश समिति, केन्द्रिय समिति, र दलित पत्रकार संघले भिन्दाभिन्दै विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जानकारी दिँदै दोषी उपर कडा कारवाहीको माग गरेका थिए ।
ती सस्थाले समाचारप्रति कुनै गुनासो वा असहमति भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब सिर्जना गर्नु उचित नभएको भन्दै यस्ता गतिविधिले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरुत्साहित गर्ने जनाएका थिए । नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिब रामप्रसाद दाहाल, कोशी प्रदेश महासचिब हिमाकुमारी चेम्जोङ, धनकुटा सचिब हरिबहादुर लम्जेल र दलित पत्रकार संघका महासचिव करन ताम्राकारले हस्ताक्षर गर्दै भिन्दाभिन्दै विज्ञप्ती जारी गरेका थिए ।
घटनापछि पत्रकार बराइलीले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने धम्की आएको, जातिय रुपमा गालि गरेको भन्दै उजुरी दिएका थिए । घटनापछि बुधबार बिहान प्रहरीले कार्कीलाई घरैबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवत्ता प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । कार्कीलाई अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्वक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
- dhankutapress