धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं. ६ सिरानबजारमा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयले ९३ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कोशी प्रदेसभा सदस्य एवं पुर्व मन्त्री निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिकोत्सव तथा अभिभावक दिवश साथै छात्रावृति तथा पुरस्कार वितरण समारोहमा अन्तर नगर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुल, धनकुटा–७, तुलसीमेयर सेकेण्डरी बोर्डिङ्ग स्कुल धनकुटा–७ र गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटा–६ ले भाग लिएका थिए । प्रतियोगितामा तमोर भ्याली सेकेण्डरी वोर्डिङ्ग स्कुल प्रथम, गोकुण्डेश्वर माध्यामिक विद्यालय दोश्रो र तुलसी मेहर सेकेण्डरी वोर्डिङ्ग स्कुल तेश्रो भएको थियो । विजयी विद्यालयका कलाकार भाइबहिनीहरुलाई क्रमशः ४ हजार, ३ हजार, १५ सय नगद, प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले विद्यालयको आ.व.०८१÷०८२ को आय–व्याय सहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले विद्यालयको आर्थिक श्रोत जुटाउनको लागि विद्यालयको माथिल्लो भागमा सटर निर्माण गर्ने वताए । जस्का लागि सहयोग गर्न सम्पूर्ण चन्दादाताहरु, अभिभावकहरु, विद्यालयका सहयोगी मनहरु र कार्यरत शिक्षकहरुलाई समेत आव्हान गरे ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर प्रधान, कमल जोशी स्मृति अक्षयकोषका अध्यक्ष डा.अम्बिकामोहन जोशी, पूर्व विद्यार्थी समाजका अध्यक्ष डा.गोपालवहादुर भट्टराई, शिक्षा समन्वय ईकाइ धनकुटाका प्रतिनिधि उमेश राई, शिक्षक अभिभावक संघका अध्यक्ष भोजराज खत्री, समाजसेवी विकास प्रधान लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले शिक्षा जीवन उपयोगी र व्यवसायिक तथा उत्पादनमूलक हुनु पर्नेमा जोड दिएका थिए ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको महिला तथा पुरुष भलिवल, पुरुष फुटवल, दौड प्रतियोगिता लगायत विभिन्न विधागत खेलकुद प्रतियोगिताहरूमा विजयी हुने विद्यार्थी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अथिति प्रदेश माननीय निरन राई, विद्यालयका प्रधानाध्यपक यज्ञप्रकाश चापागाईं लगायत अतिथिहरुले नगद पुरस्कार तथा प्रमाण पत्र, मेडल, ट्रफी वितरण गरेका थिए । सोही अवसरमा विद्यालयमा अध्ययनरत विभिन्न विद्यार्र्थीहरूलाई छात्रवृति समेत प्रदान गरिएको थियो ।
वार्षिकोत्सव एवं अभिभावक भेला, सम्मान, पुरस्कार तथा छात्रवृति वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद साप्कोटाले गरेका थिए । .jpg)
- dhankutapress