धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले २८६१ डुक ल्हो (सापुख्री सर्प बर्ग) सोनाम ल्होछार नयाँ वर्षको अवसरमा सनिबार शुभकामना आदन–प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रालाई सम्वोधन गर्दै शुभकामना आदन प्रान तथा विविध साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि प्रदेश माननिय निरन राईले भने–‘नेपाल विभिन्न जातजातिको साँझ फूलवारी भएकाले सवै फूलहरुले समान ढंगले फुल्न सक्नु पर्दछ ।’ उनले थपे– संस्कृति भित्र विविधता रहेको देश नेपालमा ‘हामी केहिले सेलो, कहिले हुर्रा, कहिले चण्डी त कहिले रोधि आदिमा रमाउने गर्दछौं ।’ प्रदेसका पुर्व राज्य मन्त्रिसमेत भैसकेका राईले पञ्चायतकाल र बहुदलिय व्यवस्थामा नेपालका जातजातिको समश्यलाई सम्वोधन गर्न नसक्दा ब्यबस्था परिवर्तन गरेर संघीय गणतन्त्र ल्याउनु परेको बताए । ‘नेपाली जनताले संघीय गणतन्त्र नेपाल ल्याएसंगै वाक स्वतन्त्रतासंगसंगै यहाँको जाति समुदायलाई हरेक जातिको भाषा, संस्कार, संस्कृति, सवैलाई समान ढंगले राज्यले सम्वोधन गर्नुको विकल्प छैन’–राईले थपे ।
सो अवसरमा उनले ‘धनकुटा नगरको मुख्य आकर्षणको रुपमा धनकुटा नगरपालिका वडा नं.४ मा निर्माण भैरहेको ह्रिन्छेन छ्योलिङ्ग गुम्बा निर्माणधिन अवस्थामा रहेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले गुम्बा निर्माण भएपछि धनकुटा नगरमा धार्मिक पर्यटनको विकास हुनेमा आफू विश्वस्त रहेको वताए । राईले गुम्बाले वेलावेला आयोजना गर्ने यस्ता खाले धार्मिक एवं साँस्कृतिक कार्यक्रमले नयाँ सोचँ र योजना बनाउन मद्धत पु¥याउने भन्दै मञ्जुश्री सम्बत २८६१ को अवसरमा सोनाम ल्होछारको शुभकानमा दिए ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्शेर आठपहरियाले निर्माण भैरहेको गुम्वाको निर्माण कार्य सम्पन्न भएर संचालनमा आउँदा धनकुटालाई नै फाईदा पुग्ने वताए । उनले गुम्वा निमार्णको लागि वडा, नगर, प्रदेश सरकारबाट भएको अहिलेसम्मको लगानीले गुम्वा निर्माणको काम पूरा हुन नसकेको हुँदा थप वजेटको लागि पहल गर्ने बताए । नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपाल धनकुटाका अध्यक्ष पार्वती राईले आदिवासी जनजाजातिहरु माथि राज्यले विभेद गरिरहेको वताए । उनले राज्यद्धारा संरक्षित मठमन्दिरमा चाँही सुनको जल्हरी लाउनु पर्ने हाम्रो गुम्वा, माङ्गहिम बनाउनलाई चाँही जहिल्यै बजेटको अभाव झेलीरहनु पर्ने भन्दै सरकारलाई प्रतिप्रश्न गरे ।
उनले नेपालका आदिवासी जनजाति भनेको राज्यको लागि समश्या नभएर राज्यको सम्पती भएको ठोकुवा गरे । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले राज्य भनेको कुनै एउटा भूगोल मात्र नभै, जाति विशेष मात्र पनि नभै, राज्य भनेको त्याहाँ रहेको सम्पूर्ण जातजाति, भाषा, भाषीको संस्कार, संस्कृतिको संयुक्त दस्तावेज भनेकै राज्य भएको वताए ।
शुभकामना आदन प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले धनकुटामा निर्माण भै रहेको गुम्वा यहाँको गहनाको रुपमा स्थापित हुनेमा आफुहरु विश्वस्त रहेको बताएका छन् । नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष नरेशकुमार पाख्रीन तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका उप–प्रमुख भमिा देवी खनाल, नेपाल तामाङ घेदुङका संघीय सदस्य विष्णु मोक्तान, समाजसेवी सरस्वती श्रेष्ठ, धनकुटाका अध्यक्ष उद्धवमणी राई, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख सावित्रा राई, उद्योग वाणिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष तारा तितुङ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख श्यामसिं थारु, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख रुद्र गुर्मछान मगर, नागरिक समाजका अगुवा सुन्दरवावु श्रेष्ठ, लोक गायक रमेश राई लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा धनकुटा स्थित् हाम्रो डान्स सेन्टरका स्थानिय कलाकारहरुले तामाङ संस्कृतिमा आधारित डम्फू सेलोमा नृत्य प्रश्तुत् गरेका थिए । कार्यक्रममा हाम्रो डान्स सेन्टर धनकुटाका नृत्य निर्देशक सन्तवीर तामाङ सहित ‘जुम्बा टोली सहित स्थानिय कलाकारको उपस्थिति रहेको थियो । कार्यक्रममा पाख्रीवास नगरपालिका वडा नं.९ उत्तरपानीबाट आएका डम्फूरेहरु तम्वासंघ धनकुटाका अध्यक्ष हरीलाल मोक्तान, जिल्ला सदस्य पदमसिं तामाङ, बवी घिसिङ, दिलवहादुर घिसिङ लगायतले डम्फु सेलोमा साङ्गसेर्गेम गरेका थिए । उनीहरुले प्रश्तुतीमा नयाँ वर्षको स्वागत गर्दै डुल ल्हो सापुख्री वर्गले सम्पुर्ण पृथ्वीमा रहेको प्राणी जगतको भलाई र शान्तीको कामना समेत गरेका थिए । सो अवसरमा म्हानिपा घेदुङ धनकुटाको तर्फबाट अष्टमंगल पाठ (टाशीग्यापा) समेत गरिएको थियो । म्हानिपा पेमाकुमारी लामा, माया थिङ, पेमा ग्दान, लगायतले टाशी ग्यापा अष्टमंगल पाठ गरेका थिए ।
कार्यक्रममा धनकुटा नगरपालिका भित्रका विभिन्न वडामा वसोवास गर्ने तामाङ, गैह्र तामाङ दाजु भाई तथा दिदिवहिनीहरुको सयौंको संख्यामा सहभागीता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला घेदुङ धनकुटाका पुर्व सचिव एवं हिन्छेन छ्योलिङ गुम्वा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गरेका थिए । कार्यक्रमको संचालन नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका सचिव बबी घिसिङले गरेका थिए । कार्यक्रमको सह–आयोजक ह्रिन्छेन छ्योलिङ गुम्वा धनकुटा र व्यवस्थापन म्हानिपा घेदुङ धनकुटाले गरेका थिए ।
फोनिजका जिल्ला अध्यक्ष मोक्तानलाई नगर घेदुङ्गको सम्मान :
सो समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंध (फोनिज) जिल्ला शाखा धनकुटाको पाँचौं जिल्ला अधिवेशनबाट निर्वाचित मानवी मोक्तानलाई नेपाल तामाङ नगर समिति धनकुटाले सम्मान गरेको छ । गएको पौष–२७ गते सम्पन्न फोनिज धनकुटाको पाँचौं जिल्ला अधिवेशनबाट निर्वाचित मोक्तानलाई नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले सोनाम ल्होछारको अवसर पारेर आयोजना गरेको विशेष कार्यक्रममा सम्मान गरेको हो ।
मोक्तानलाई कार्यक्रमका अध्यक्ष नरेश कुमार पाख्रीनले खदा ओडाएर सम्मान गरेका थिए भने प्रमुख अतिथि निरन राईले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । सम्मानित हुने पत्रकार मोक्तान धनकुटामा करिव डेड दशक देखि पत्रकारिताका क्रियाशिल रहेकी छन् । हाल उनी धनकुटाको हिलेमा रहेको रेडियो लाली गुराँस एफएममा समचार सम्पादकको रुपमा कार्यरत रहेकी छन् ।
- dhankutapress