धनकुटा प्रेस सम्वाददाता
धनकुटा/१८ औँ गणतन्त्र दिवस विहिवार धनकुटामा विभिन्न कार्यक्रमको आयोजना गरी विहिवार भव्यता र हर्षोल्लासका साथ मनाइँएको छ । गणतन्त्र दिवस मूल समारोह समिति धनकुटाको आयोजनामा प्रभातफेरी र सभाको आयोजना गरिएको छ ।
धनकुटाको वसपार्कबाट सुरुभएको प्रभातफेरी मदन चोक, चुवाको बोट, भीमसेन थान, भीमनारायण चोक माथिल्लो कोप्चे हुँदै तल्लो टुँडिखेलमा पुगेर आममसभामा परिणत भएको थियो । त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रज एवं सहिदहरुको योगदान प्रति स्मरण गरिएको थियो । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र संघर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो। लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले साथ दिओस भन्दै अझ धेरै प्रतिबद्ध बनाएको कार्यक्रममा सहभागी राजनितिक दलका नेताहरूले विश्वास व्यक्त गरेका छन् ।
त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवद्र्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उनीहरूको छ। जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य निरन राई, इन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला समन्वय उप प्रमुख सावित्रा राई, अग्रज नेता आनन्द सन्तोषी राई, गोपाल गुरागाँई, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नेपाली कांग्रेसका नेता विजय सन्तोषी राई, एमाले नेता परशुराम नेपाल, जसपा नेपालका डम्वर कट्वाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा नेवाःपुचः, नेपाल तामाङ घेदुङ, किराँत याक्थुङ्ग चुम्लुङ्ग, किराँत राई यायोखा, नेपाल मगर संघ लगायत विभिन्न जातजातिले आ–आफ्नो मौलिक भेषभुषामा मौलिक झाँकी समेत प्रस्तुत गरेका थिए ।
बि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।
- dhankutapress