धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाली कम्युनिस्ट पार्टी धनकुटाले जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ । सो पार्टीले आउँदो पुस १३ गते जिल्लास्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो । सभालाई सम्वोधन गर्न केन्द्रीय नेता तथा पूर्वमन्त्री भीम नेता भीम रावल आउने जनाइएको छ । नेपाली कम्युनिस्ट पार्टीले सदरमुकामस्थित नेपाल पत्रकार महासंघको हलमा बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एकता सन्देश सभाबारे जानकारी गराएको हो । केन्द्रिय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागेको नेकपाले जनाएको छ । नेकपाका नेता कुशुम कुमारी श्रेष्ठ र गोपाल बराइली हस्ताक्षरित ‘प्रेस नोट’ अनुसार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री भीम रावल, हरिबोल गजुरेल, कोशी प्रदेशका नेताहरुको उपस्थितिमा एकता सन्देश सभा गर्न लागिएको हो ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरुको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले सातवटै प्रदेशमा एकता सन्देश सभा आयोजना गरिसकेको छ । पुस १३ गते जिल्लास्तरीय एकता सन्देश सभा सकेर क्रमश पालिकास्तरीय एकता सन्देश सभा गर्ने तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेलले जानकारी दिए । पुस १३ गते हुने एकता भेलामा धनकुटा बसपार्कमा भेला भएर प्रदर्शन सहित सामुदायिक भवनमा एकता सभाको कार्यक्रम गर्ने नेता धर्मराज पौडेलले पत्रकार सम्मेलनमा बताएका छन् ।
- dhankutapress