धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी एमाले धनकुटाका राजेन्द्र राईलाई लक्षित गरी फेसबुकमा झुटो आरोप लगाएको प्रति एमाले धनकुटाले आपत्ति जनाएको छ ।
नेकपा एमाले धनकुटाले सनिबार पत्रकार सम्मेलन गरेर स्वतन्त्र उम्मेदवार रहेका लाक्पा तामाङले गलत मोवाईल नम्बर राखि झुटो प्रचार गरेको आरोपमा आपत्ति जनाएको हो । स्वतन्त्र उम्मेदवार रहेका धनकुटा हिलेका तामाङले शुक्रबार एमाले उम्मेदवार राईले धनकुटाको मुगामा एक भोट बराबर १० हजार रुपैयाँ बाँडेको भन्दै फोनमा रेकर्ड गरेको अडियोलाई भिडियो बनाइ पोष्ट गरेका थिए । सामाजिक संजालमा हालेको उक्त अडियो र भिडियो गलत भएको भन्दै नेकपा एमाले धनकुुटाले पत्रकार सम्मेलन मार्फत आपत्ति जनाएको छ ।तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले उम्मेदवार राईको विषयमा गलत फोन नम्बर प्रयोग गरी नक्कली व्यक्ति खडा गर्दै भ्रमपूर्ण सूचना र सन्देश प्रवाह गरेको एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बूले बताएका छन् । निर्वाचन आचारसंहिता २०८२, प्रचलित ऐन, कानून तथा नियमको उल्लंघन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको समेत एमालेले ध्यानआकर्षण गराएको छ ।
स्वतन्त्र उम्मेदवार तामाङले सामाजिक सञ्जालमा राखेको भिडियो तथा अडियोमा प्रयोग भएको भनिएको भूपाल थापा नामको व्याक्ति, प्रयोग गरिएको मोबाइल नम्बर नक्कली भएको बताईएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय समक्ष उपस्थित गराई आवश्यक कानुनी कारबाही अघि बढाउन समेत एमालेले पत्रकार सम्मेलनमा माग गरेको छ ।
एमाले अध्यक्ष आङ्लाले लोकतान्त्रिक अभ्यास, कानूनी शासन विधि र निर्वाचन प्रक्रियालाई सम्मान गर्दै स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको समेत बताए । उनले यस किसिमका अवाञ्छित गतिविधि तत्काल रोक्न चेतावनी दिँदै आवश्यक प्रतिकारबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी अवाञ्छित गतिविधिमा संलग्न पक्ष स्वयंले लिनुपर्ने समेत चेतवानी दिए ।
- dhankutapress