धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सुनसरीको रामधुनी नगरपालिका वडा नं.५ मा रहेको पिङ्गक लोटस इङ्गलिस स्कुलका छात्रा–छात्रहरु शैक्षिक भ्रमण सकेर फर्किर्दै गर्दा दुर्घटनामा परेको बस चालकको वुधवार उपचारको क्रममा मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा न.१ घर भएका वर्ष ६० का भुवन चौधरीको विराट टिचिङ्ग हस्पिटल विराटनगरमा उपचारको क्रममा वुधवार विहान ११ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । झुम्काबाट गएको शुक्रवार तेह्रथुमको तिनजुरे शैक्षिक भ्रमणमा गएको को १ ख ५३१३ नम्वरको बसका चालक चौधरी फर्कने क्रममा धनकुटा नगरपालिका वडा नं.७ जिरोपोइन्ट नजिक रमाइलो घुम्तीमा दुर्घटना परेका थिए । २२ जना छात्रा, १४ जना छात्र, ३ जना शिक्षक, आफू सहित २ जना वसका स्टाफगरी जम्मा ४१ जना यात्रु वसमा सवार थिए ।
बसमा सवार मध्ये २९ जना घाईते भएका थिए । घाईते मध्ये २५ जना डिस्चार्ज भई सकेको र अन्यको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी राजबाबु महर्जनले बताएका छन् । त्यसैगरी स्कुल वसका सह–चालक राधेलाल कर्ण पनि उक्त दुर्घटनामा घाईते भएका थिए । उनकानुसार रमाइलो घुम्तीमा आइपुगेपछि बसको चालक भुवन चौधरीले ग्यार चेन्ज गर्दा व्रेक नलागेपछि अनियन्त्रित् भई सडक नजिकै गोलाईमा ठोकिएर पल्टिएको बताएका थिए । दुर्घटनाको विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- dhankutapress