धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
पाख्रीवास/धनकुटाको पाख्रीवासमा कोशी प्रदेशका तीन जिल्लाका सुरक्षा तथा समन्वयको बैठक वुधवार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा संखुवासभा, भोजपुर र धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको वैठक सम्पन्न भएको हो ।
बैठकमा तिन वटै जिल्लाका सुरक्षा लगायत साझा सवालहरुका विषयमा छलफल भएको थियो । जिल्लामा विपत व्यवस्थापन सम्बन्धि, शान्ति सुरक्षा व्यवस्थापन, कुनै पनि बेला नागरिकबाट हुन सक्ने आन्दोलन तथा संघर्षको कार्यक्रम, मौसमजन्य विपदको जोखिम उच्च भईरहेको अवस्थामा विपदको सामना कसरी गर्ने, आउन सक्ने अपराध नियन्त्रण, अवैध हातहतियार तथा लागूऔषध प्रयोग तथा ओसार पसारको नियन्त्रण, खुल्ला सिमाना व्यवस्थापन आदिका विषयमा छलफल गरीएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
यस्तै बैठकमा सवारी साधन चेकजाँचमा कडाइ, विपद् व्यवस्थापन, प्रतिकार्य र विपद् पछिको अवस्था व्यवस्थापनमा सरोकारवालाहरु विच साझेदारी, बन पैदावार तथा चोरी सिकारी नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । त्यस्तै अवैध मदिरा नियन्त्रण, अपराधीक घटना बढ्न नदिन पूर्व तयारी, भारतीय सवारी साधन चेकजाँचमा कडाइ, रणनीतिक महत्वका स्थानहरुमा सिसिक्यामरा जडान गर्न स्थानीय सरकारसँग समन्वय, सहकार्य, सार्वजनिक सेवा प्रवाह र प्रभावकारिता लगायतका विषयहरुमा छलफल भएको छ ।
तिन जिल्लाको समन्वय बैठकमा कोशी प्रदेशका धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल सहित संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा सहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । वैठक पाख्रीवास नगरपालिका वडा नं.४ को संसारीमाई सिमसार क्षेत्रमा रहेको नमूना हवाईजहाजको हलमा सम्पन्न भएको थियो ।
- dhankutapress