धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/राष्ट्रिय यूवा संघ नेपालको २ दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम शुक्रवार देखि धनकुटाको राजारानीमा शुरु हुने भएको छ ।
प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न आउन लागेका संघका केन्द्रिय अध्यक्ष क्षितिज थेबेलाई भने चौविसे क्षेत्रका पहिचानवादी दलहरुको गठित संघर्ष समितिको वुधवार वसेको एक भेलाले पहिचान विरोधी भएको भन्दै प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।
उनीहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भनेका छन्–‘भाद्र–८ र ९ गते आयोजना हुन भईरहेको २ दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा पहिचान विरोधी थेबेलाई निमन्त्रणा गरिएकोमा पहिचानवादी दल संयुक्त संघर्ष समिति चौविसेले घोर भत्र्सना गर्दे आपत्ति जनाएका छौं ।’ विज्ञप्तीमा भनिएको छ–‘थेबे जस्तो पहिचानको आन्दोलनलाई खिसिटिउरी गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा आतंककारी भनेर सार्वजानिक रुपमा अभिव्यक्ति दिने,आफ्नो मालिकलाई खुशि बनाउन धरातल र आफ्नो आमालाई समेत बन्धक राख्न पछि नपर्ने वंश गद्धारलाई यो पवित्र लिम्वूवानी (भूमि) चौविसेमा सशक्त रुपमा प्रवेश निषेध गछौं ।’
विज्ञप्तीमा पहिचान सहित प्रदेश नामंकन पुनःसंघर्ष समितिका केन्द्रिय सदस्य डा.शुक्रवहादुर चेम्जोङ लिम्बु, पहिचानवादी दल चौविसे संयुक्त संघर्ष समितिका संयोजक दिवा चेम्जोङ, किराँत याक्थुङ चुम्लुङका गणेश कुमार लिम्वू,संयुक्त लिम्वुवान राष्ट्रिय मञ्चका आशिष थेगिम लिम्वू र जनता समाजवादी पार्टीका भूपालसिं लिम्वूले हस्ताक्षर गरेका छन् ।
पहिचानवादी दल संयुक्त संघर्ष समिति चौविसेका संयोजक दिवा चेम्जोङले भने–‘लिम्वुवानी भूमिमा पहिचान विरोधीहरुको उपस्थितिमा कार्यक्रम गर्न हामी कुनै पनि हालतमा दिन्नौं ।’ जवर्जस्ती ढंगले कार्यक्रम गरे थेवे सहभागी कार्यक्रमको हामी प्रतिकार गरेरै छाड्छौं ।’
यता राष्ट्रिय यूवा संघ जिल्ला कमिटी धनकुटाका अध्यक्ष प्रविण पोख्रेलले संघ–संगठनहरुले कार्यक्रम नै गर्न नपाउने भन्ने दुनियाँमा काँही छैन, भन्दै जसरी भए पनि कार्यक्रम गर्ने वताए । उनले २ दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएका छन् । उनले कार्यक्रमको उद्धघाटन सत्रलाई पार्टीका नेता महेश वस्नेत लगायतले समेत सम्वोधन गर्ने कार्यक्रम रहेको वताएका छन् ।
- Dhankutapress