धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दुव्र्यवहार गरेको आरोपमा धनकुटाको लेगुवाबाट पक्राउ परेका महेश राईलाई पहिचानवादी नेताहरुले वुधवार जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा गएर भेटघाट गरेका छन् ।
राईलाई प्रदेश नं.१ पुनःनामंकन केन्द्रिय संघर्ष समितिका संयोजक डगेन्द्र थेगिम लिम्वु, किराँत राई यायोखाका केन्द्रिय उपाध्यक्ष तिलक राई, उप–महासचिव अर्जुन जम्नेली राई, राष्ट्रिय जनमक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्गवा, उप–महासचिव विष्णु थाम्देन लगायतले भेटघाट गरेका हुन् । भेटघाटको क्रममा पहिचानवादी नेताहरुले राईको स्वास्थ्य अवस्था, परिवारिक अवस्था र विशेष गरेर दुव्र्यवहार भएको घट्नाको विषयमा चासोको साथ सोधेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासदमा रहेका महेश राईसंग जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्गवा कुराकानी गर्दै ः
सोही क्रममा हिरासतमा रहेका राईले भने–‘एमाले अध्यक्ष ओली आउने दिन आफूले सामान्य मादक पदार्थ सेवन गरेको कारण अचानक हुत्तिएर ठोकिएको हो ।’ ‘मैलो कुनै गलत मनशायले त्यस्तो काम गरेको हैन ।’ तर, मलाई मरणशन्न हुने गरी क–कस्ले कुटे आफूलाई त्यो बेला थाहा नभएको राईले बताए । सोही क्रममा उनले थपे–‘पहिले म एमाले नै थिए तर, हिजोआज कुनै दलमा नलागी स्वतन्त्र रहेको छु ।’ राईलाई पहिचानवादी नेताहरुले नआत्ति धर्य गरेर वस्न आग्रह गर्दै भने–‘तत्काल स्थानिय प्रशासनले नछोडे हामी आन्दोलन गरेर भए पनि निकालेरै छाड्ने छौं ।’
महेश राई रिहाइको विषयलाई प्रजिअ पौडेलसंग पहिचानवादीहरुको छलफल :
हिरासदमा रहेका राईलाई रिहाई गर्ने विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलसंग पहिचानवादी नेताहरुले भेटघाट गरेका छन् । भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले भने–‘प्रहरीबाट फायल आफ्नो टेबलमा आई नपुगेकाले अहिले केही भन्न सक्दिन ।’ उनले घट्नाको प्रकृति अनुसार अनुशन्धान र आवश्याक कानुनी प्रक्रिया मिलाउनु पर्ने भएकाले केही समय लाग्ने बताए । उनले थपे–‘प्रतिवेदनमा घट्नाको विषयमा के भनेर आउँछ,फाएल नहेरी केही भन्न मिल्दैन ।’
हिरासदमा रहेका राईका विषयमा यायोखा केन्द्रिय उपाध्यक्ष तिलक राईले नेकपा एमालेले हाम्रो मान्छे भनिरहँदा पनि कार्वाही गर्नु भयो भने पाप लाग्ने भन्दै तत्काल छोड्न आग्रह गरे । उनले भने–‘पहिचानको आन्दोलन संसारमा चलेको छ, नेपालमा मात्र हैन, भन्दै सहयोग गर्न आग्रह गर्दछु ।’ राईले थपे–‘स्थानिय प्रहरी प्रशासनले हामीसंग एउटा कुरा, पक्राउ परेका मान्छेसंग अर्को कुरा गरेर मानसिक दवाद नदिनु होला ।’
राष्ट्रिय जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्गवाले परिस्थितिजन्य घट्ना घट्यो, हामीलाई पनि नैतिक संकट छ, यो घट्नाको जिम्मेवारी हामीसंग पनि जोडिएको वताए । पालुङ्गाले थपे–‘हाम्रो संगठनले विज्ञप्ति जारी गरेर रिहाईको माग गरिसकेको छ, यथाशिघ्र निर्णय दिने अधिकार सिडियो सावको हो ।’ उनले प्रजिअ पौडेललाई भने–‘चाँडो निर्णय दिन सक्नु भएन भने हामी फेरी आन्दोलन गर्न वाध्य हुनेछौं ।’
स्थानिय प्रशासनले शान्ति सुरक्षामा खलल् पु¥याउन सक्ने आशंकामा मंसिर २७ गते लेगुवावाट ९ जना र छथरजोरपाटीको सिधुवावजारबाट मंसिर २८ गते ९ जना गरी जम्मा पक्राउ परेका १८ जना पहिचानवादीहरु यस अघि नै छुटिसकेका छन् । लेगुवा वजारबाट ओली माथि दुव्र्यावहार गरेको आरोपमा पक्राउ परेका महेश राई भने छुटेका छैनन् । पक्राउ परेका १८ जना भन्दा महेशको घट्ना र मुद्धाको विषय फरक भएकाले आवश्याक अनुशन्धानको लागि केहि दिन लाग्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक डिएस्पी राजवावु महर्जनले वताए ।
- Dhankutapress