धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/धनकुटामा एक घरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ ।
आइतबार दिउँसो धनकुटा नगरपालिका–५ कर्मिटारका विश्वबन्धु थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । घर नजिकै रहेको गोठमा खोले पकाउने क्रममा सल्केको आगोबाट घरायसी सामानहरु लत्ताकपडा, अन्नपात, खाद्यान्न, भाडाकुँडा, गाइ गोठ र पराल गरी जम्मा ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिकाको दमकल, सशस्त प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए ।
- Dhankutapress