धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवशको अवसरमा धनकुटामा सोमवार विविध कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न स्मृति दिवशमा जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफूल वितरण तथा आरामचेयर वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य एवं नेकपा एमाले धनकुाटका अध्यक्ष इन्द्रमणी पराजुलीले राज्य संचालन गर्ने स्थायी सरकारको प्रतिनिधि भनेको निजामती कर्मचारी भएको वताए । पराजुलीले भने–‘मुलुकमा सुशासन, शान्ति, अमनचयन कायम गर्न निजामती कर्मचारीहरुले राम्रोसंग काम गर्नु पर्छ ।’ निजामती कर्मचारीले देश र जनताको लागि गरेको योगदानको समिक्षा गर्दै आगामी दिनमा अघि वढ्नु पर्नेमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पराजुलीले जोड दिएका थिए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख एवं अस्पताल विकास समिति धनकुटाका अध्यक्ष निरेन तामाङले एक नं. प्रदेश अन्तर्गत कोशी पहाडी जिल्लाको वासिन्दाहरुलाई स्वास्थ्य सेवा पु¥याई रहेको धनकुटा अस्पतालको स्तर उन्नतिको लागि पहल भैरहेको बताए । उनले भने–’निजामती कर्मचारी संगठनले धनकुटा अस्पताललाई आरामचेयर र विरामीहरुलाई फलफूल वितरण गरेर सहयोग गरेको भन्दै धन्यवाद् दिन्छु ।‘ उनले धनकुटा अस्पताल हाल १५ वेडको मात्र रहेको र चाँडै १ सय वेडको वनाउनको लागि सरोकारवालासंग आवश्यक छलफल गरेर अस्पताल विकास समिति अघि वढी रहेको जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जनता, निजामती कर्मचारीहरुको मालिक भएकाले राष्ट्रसेवक कर्मचारीहरुले दत्तचित्त भएर सेवा गर्नु पर्नेमा जोड दिए । प्रजिअ गौतमले भने–‘निजामती कर्मचारीहरुलाई सेवाग्राहीहरुले कसरी हेरिरहेका छन्, नागरिकको पक्षमा सेवा गरिरहेका छौं कि, छैनौं ? हामीले साँचै हाम्रो हितमा मात्र काम गरिरहेका छौं कि, जनताको पक्षमा पनि गरिरहेका छौं समिक्षा गर्न जरुरी रहेको छ ।’
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदीले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए । उनले हरेक वर्ष वैसाख–७ गते संगठनको स्थापना दिवश र श्रावण–१५ गते सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवश मनाउँदै आएको स्पष्ट पारे । उनले भने–‘निजामती कर्मचारीहरुले हरेक दिन १० देखी ५ वजेसम्म समय विताउने मात्र नभई संगठनको हकअधिकार र सेवाग्राहीको हितमा काम गर्नु पर्छ ।’ उनले निजामती कर्मचारीहरुले रचनात्मक काम गरेर समाज परिवर्तनको सम्वाहक बन्नु पर्नेमा जोड दिए ।
सो अवसरमा नेकपा एमालेका नेता शिव आङ्गला, नेपाल निजामती कर्मचारी संगठनका कन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज गोविन्द खत्री, पेशागत महासंघका केन्द्रिय सदस्य यज्ञ प्रकास चापागाँई, नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ्ग, धनकुटा अस्पतालका डा.रुमित झा लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा संगठनको तर्फबाट धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्नुको साथै आरामचेयर वितरण गरिएको थियो ।
अन्य तस्विरहरु :



- Dhankutapress