धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको छथरजोरपाटी गाउँपालिकाले जेन्-जी सरकारको निर्णय सात पालिका मध्ये पहिलो पटक कार्यान्वयन गरेर निर्णय कार्यान्वयन गर्नेमा पहिलो स्थानिय तह हुन सफल भएको छ ।
यो निर्णय कार्यान्वयनसंगै छथरजोरपाटी गाउँपालिकाका कार्यरत अस्थायी र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको नियुक्ति र सम्झौता रद्द हुने भएको छ । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार अस्थायी र करार सेवाका सबै नियुक्ति र सम्झौता खारेज गरिएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताएका छन् । उनले आफ्नो पालिकामा करिव दुई दर्जनको हाराहारीमा अस्थायी तथा करार सेवामा कर्मचारी कार्यरत रहेको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ८ मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्देशन जारी गरेको थियो । उक्त निर्देशनअनुसार गाउँपालिकाले हालसम्म दरबन्दीबाहिर अस्थायी रूपमा नियुक्त भएका र करार सेवामा कार्यरत सबै कर्मचारीहरुको सम्झौता मंगलबारबाट लागू हुनेगरी खारेज गरिएको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र वहादुर घिमिरेले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले छथरजोरपाटी गाउँपालिकामा अस्थायी र करार सेवामा कति कर्मचारी छन भन्ने तथ्याङ्गक भने जारी सूचनामा खुलाएका छैन्न । उनले भने–‘सूचनामा भनिएझैं स्वीकृत दरबन्दी बाहेकका छथरजोरपाटी गाउँपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीहरुको दरबन्दी कटौती गरिएको हो ।’
- dhankutapress