धनकुटा प्रेस सम्वाददाता
भेडेटार/धनकुटाको भेडेटारबाट सुन जस्तो देखिने धातु र नगदसहित दुई जना ठग गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नं.८, जाँते घर भएका ३० बर्षिया मनोज विश्वकर्मा र सोही स्थानका १९ बर्षिया धिरज विश्वकर्मा रहेका छन् ।
आइतबार राती करिब १०ः३० बजे धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.६ स्थित भेडेटार चोकमा चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१२–०५४ प २१६५ नं.को एफजेट मोटरसाइकलमा सवार दुईजना व्यक्तिहरुलाई शंका लागि चेक जाँच र खान्तलासी गर्दा चालक धिरज विश्वकर्माले बोकेको कालो रंगको झोलाभित्र सुन चाँदीजस्तो देखिने धातुका विभिन्न गरगहनाहरू, सुन जस्तो देखिने धातुका स–साना ५ थान टुक्राहरू र केही नगद रुपैयाँ समेत फेला परेको तर सो सम्बन्धी बिलबिजक नभएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
सुनचाँदी व्यवसायी संघसंगको समन्वयमा रीतपूर्वक तौल गर्दा फेला परेका सुन र चाँदी जस्तो देखिने नक्कली गरगहनाहरूमा चाँदी जस्तो देखिने विभिन्न अन्य गरगहनाहरूको जम्मा तौल ३,१४९.१३ ग्राम जस्को मूल्य ५ लाख ४१ हजार ३ सय २४ रुपयाँ, पोतेमा भएको सुन जस्तो देखिने पेन्डेन्ट थान–५ र सुन जस्तो देखिने साना–साना टिलका टुक्रा थान–५ को जम्मा तौल १२.७१० ग्राम जस्को मूल्य २ लाख ८ हजार ६ सय ७३, ५ सय रुपयाँ तथा १ हजार दरको नोट जम्मा ८५ हजार ५ सय रुपयाँ प्र.१–०२–०५४ प २१६५ नं.को एफजेट मोटरसाईकल १ थान रहेको छ ।
पक्राउ परेकालाई (आज) बैशाख ३० गते आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइने प्रहरीले जनाएको छ । विशेष गरेर पुर्वको धरान, इटहरी, भेडेटार, तरहारा, इटहरीपूर्व दमक, विर्तामोड, वेलवारी, पथरी लगयताका तराईका विभिन्न स्थानमा वर्षौ देखी नक्कली सुन देखाएर सर्वसाधरण ठग्ने गिरोह पनि सक्रिय रहेको बेला यी दुई पात्र विभिन्न धातु र नगद सहित पक्राउ पर्नुले थप ठगीको घट्ना खुल्न सक्ने देखिन्छ ।
प्रहरीले पक्राउ परेकाहरुलाई गम्भिर ढंगले निर्मम् भएर अनुशन्धान गरेको खण्डमा अवश्य पनि थप सुनचाँदीको गरगहना यस अघि ठगी गरेको दर्जनौं घट्ना खुल्न सक्छन् । यस तर्फ प्रहरीको ध्यान जान जरुरी छ । यस अघि नक्कली सुनको टिल बनाएर सक्कली सुन ठगेर पहाडबाट झरेका सर्बसाधरणलाई यस्ता ठगहरुले वर्षौ देखी विशेष गरेर धरान इटहरीमा धुरुक्कै पारेका छन् । यस तर्फ प्रहरीको अनुशन्धान केन्द्रित हुनु पर्छ ।
- dhankutapress