सुस्मिता थिङ तामाङ
धनकुटा/साउदी अरबमा रहेका श्रीमान् रामकुमार लिम्बूसँग हरेक दिनजसो विष्णुमायाले कुरा गर्थिन् । विष्णुमायालाई फोन मार्फत सुख दुःख रामकुमारसँग साट्ने बानी परिसकेको थियो ।
बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो विष्णुमायाको परिवारमा । वि.सं २०६० सालमा साउदी अरब उडेका छथर जोरपाटी गाउँपालिका वडा नं.५ परेवादिनका रामकुमार लिम्बू छुट्टीका वेला घर आउ जाउ गरिरहन्थे ।
पोहोर साल घर आउने कुरा थियो, तर कोरोना महामारीले गर्दा उनी आउन पाएका थिएनन् । सधैँ जस्तै गत असोज २६ गते पनि विष्णुमायालाई साउदी अरबबाट फोन आयो तर त्यो फोन रामकुमारको थिएन । रामकुमारको मृत्युको खबर सुनाउने युवराज कार्कीको फोन थियो । रामकुमारको मृत्युको खबरले विष्णुमायाको जीवनमा कहाली लाग्दो पहिरो गयो । मृत्युको खबर पाएकी विष्णुमायाको आँखा ओभाएका छैनन् ।
उनी विगत १८ वर्षदेखि साउदी स्थित ‘आइद दाहिम अल हमाद एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनी’ मा लेबर काम गर्दै आइरहेका थिए । बाटोमा लेबर काम गर्ने क्रममा गाडी आउँदा गाडीलाई साइड दिने क्रममा पुलबाट झर्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा मृत्यु भएको कुरा साउदीमा नै रहेका उनका साथी युवराज कार्कीले फोन मार्फत आफूलाई जानकारी गराएको मृतककी श्रीमती लिम्बुले बताइन् । ‘मृत्यु हुनुभन्दा एक हप्ता अघि भिडियो कलमा फोन गरेर निको भएर चाँडै घर फर्किन्छु भन्नु भएको थियो’, गहभरि आँसु पार्दै उनले भनिन्, ‘त्यसको एक हप्ता पछि एक्कासी मृत्युको खबर सुन्नु प¥यो । लोग्नेको मृत्युको खबर सुन्दा सपना जस्तै लागेको छ ।’
विदेशमा श्रीमान् बितेको चार महिना बितिसक्दा पनि शव नआएपछि विष्णुमाया अहिले चिन्तामा छिन् । साउदी अरबमा मृत्यु भएका आफ्नो श्रीमानको शव नेपाल ल्याउन पहल गरि दिन सरकार समक्ष अनुरोध गरेकी छिन् । मृतकका श्रीमती र १४ वर्षका एक छोरा छन् । छोराको नाम रविन लिम्बू हो । उनीहरू अहिले मोरङको सुन्दरहरैचा–६ गछियामा सुकुम्बासी जग्गामा बस्दै आइरहेका छन् । जीविको पार्जनका लागि गछिया खोलामा बालुवा चाल्ने काम गर्दै आइरहेको मृतककी श्रीमतीले बताइ् ।
मृतकका साढु दाइ कमलकुमार राईले गत कात्तिकमा शव नेपाल ल्याइदिन वैदेशिक रोजगार बोर्डको सचिवालयलाई निवेदन दिएका थिए । उनका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले गत कात्तिक ८ गते नेपाली राजदूतावास रियाद, साउदी अरबलाई पत्र काटेर रामकुमार लिम्बूको शव नेपाल पठाउन आवश्यक सहयोगका लागि अनुरोध समेत गरेको बताए । साउदीबाट शव आउन ६ देखि ८ महिना समय लाग्ने र शव आउनु भन्दा २४ घण्टा अघि परिवारलाई खबर आउने जानकारी बोर्डले आफूहरूलाई गराएको उनले बताइन् ।
- dhankutapress