धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागिएको हो ।
नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर अगामी असार २ गते धनकुटा नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको हो । मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसाय लगायत १५ प्रदर्शनी कक्ष रहने छन् ।
मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।
मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी प्रदान गरिने, सीपमूलक तालिम दिने संस्थाहरुको बारेमा जानकारी गराइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने छ । त्यसको साथै, नि:शुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिम सम्वन्धी जानकारी दिइने छ । बेरोजगार व्यक्ति र रोजगारदाताहरुको तथ्यांक अध्यावधिक गरिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने र स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिने धनकुटा नगर प्रमुख चिन्तन तामाङले बताए ।
- Dhankutapress