धनकुटा प्रेस अनलाईन सम्वाददाता
काठमाण्डौं/पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न वुधवार देखि थालिएको छ ।
ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते र बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मेहेलेमा गएको पहिरोमा परी निधन भएका दुई सर्वसाधारणको शव हेलिकप्टरबाट झापा पु¥याई आफन्तलाई बुझाइएको छ भने घाइते एक जनालाई पनि सोही हेलिकप्टरद्वारा वुधवार उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।
ताप्लेजुङ, पाँचथर तथा संखुवाससभा जिल्लाका बाढी तथा पहिरो प्रभावित इलाकामा चौथो दिन पनि नेपाली सेनाका स्थानीय युनिटबाट परिचालित फौजका साथै अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
वेपत्ताको खोजी तथा उद्धारको लागि नेपाली सेना धनकुटामा तैनाथ :
यसै विच धनकुटा स्थित् भीमदल गण सल्लेरी धनकुटाले वेपत्ता भएका व्यक्ति तथा सामाग्रीहरुको खोज, साथै उद्धार कार्यको लागि विपद व्यवस्थापन सामग्री सहित धनकुटाको मुलघाट स्थित् सशस्त्रको वेसमा क्याम खडा गरी खोज तथा उद्धारको लागि तैनाथ गरेको छ ।
यसरी तैनाथ गरिएका सुरक्षा फौजले मुलघाट स्थित् तमोर नदी आसपासको क्षेत्र र सहिदभूमि गाउँपालिकाको त्रिवेणीमा खोजी कार्य जारी राख्ने छ । त्यसैगरी छथरजोरपाटीको तेलिया दोभान एरियामा पनि मनसून नरोकिन्जेल खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिएका छन् ।

- Dhankutapress