धनकुटा प्रेस सम्वाददाता
ढाका/ठीक ५८ वर्षअघि आजकै दिन शेख हसिनाले परमाणु वैज्ञानिक एम ए वाजेद मियाँसँग बिहे गरेकी थिइन् । तर यस पटक यही मितिमा हसिनाको राजनीतिक जीवन समाप्त भयो ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले गत बर्षको छात्र आन्दोलन दमनमा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै ७८ वर्षीया अपदस्थ प्रधानमन्त्री हसिनालाई उनको अनुपस्थितमै मृत्युदण्ड सुनायो ।
उनी अहिले भारतमा निर्वासित छन् । त्यही मुद्दामा बंगलादृशका तत्कलिन गृहमन्त्री असदुज्जामान खान कमाललाइ पनि फाँसीको सजाय सुनाइएको छ, जबकि पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल मामुनलाई राज्यका साक्षी बनेको कारण ५ बर्षको मात्र कैद सजाय भयो। यो अदालत हसिनाकै नेतृत्वमा २००९ मा स्थापना गरिएको थियो, जसले सन १९७१ को युद्धअपराध समबन्धी छानबिन गर्थ्यो। तर यस पटक अदालतले हसिनालाई २०२४ को जुलाई, अगस्टमा भड्किएको विद्यार्थी विद्रोह दमनका ‘मुख्य योजनाकार’ ठहर गर्यो।
यस पटक नेपालमा भएको जेन (जी आन्दोलनकै झझल्को हुने गरि गत बर्ष बंगलादेशमा हिंशक बिद्यार्थीबिद्रोह भएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार त्यो विद्रोहमा सुरक्षाबलको गोली प्रहारबाट मात्रै करिब १४०० जनाको मृत्यु भएको थियो, हजारौं घाइते भएका थिए । घटनाको छानबिनको लागि बंगलादेश सरकारले नेपालमा जस्तो कुनै आयोग गठन नगरेर मुद्दा सिधै अदालतमा पठाइदिएको थियो । यो फैसला ठीक विवाह वार्षिकोत्सवकै दिन घोषणा भएपछि बंगलादेशभर प्रतीकात्मक तरंग फैलियो। सामाजिक सञ्जालमा तिखा टिप्पणी छ्यापछ्याप्ति भए,
“हाम्री पूर्व प्रधानमन्त्री हत्यारिणी हसिनालाई ‘शुभ विवाह वार्षिकोत्सव’, एक प्रयोगकर्ताको व्यंग्यात्मक टिप्पणी थियो। कति ले भने उनीहरूको मुद्दा नोभेम्बर १४ बाट १७ मा सार्नु ‘जानाजान अपमानजनक संकेत’ भएको दाबी गरे। हसिनाको समर्थक समूहले यसलाई ‘नाटकको मुखुन्डो लगाएको न्याय’ र आगामी २०२६ फेब्रुअरीको चुनावअघि आवामी लीगलाई समाप्त पार्ने राजनीतिक खेल भनेको छ। पार्टी त पहिले नै प्रतिबन्धित भइसकेको छ। भारतबाट पठाएको एक ईमेलमार्फत हसिनाले भनिन्, यो पूर्वाग्रही र राजनीतिक प्रतिशोधले भरिएको प्रक्रिया हो। आजको शासन नै मानवअधिकारको हत्यारा हो।”
ढाका अदालत बाहिर विद्रोहमा मारिएका विद्यार्थीका परिवार भावुक र उत्साहित देखिन्थे। एक पीडित दाजुभाइ मिर्महबुबुर रहमान स्निग्धले भने, “हसिनाले गरेको अत्याचारका लागि हजारौं फाँसी पनि कम हुन्छ।” ढाकामा त्यो दिन १७ हजार सुरक्षाकर्मी, र बख्तरबंद गाडीहरु तैनाथ गरिनाका साथै देख्ने बित्तिकै गोली हान्नेु आदेशसम्म जारी गरिएको थियो। आवामी लीगको बन्द र विस्फोटका प्रयास नियन्त्रण गर्न प्रहरीले कडा कारबाही गर्यो। हसिनाको घर रहेको स्थान, जुन १९७५ को सैन्य बिद्रोहपछि भग्नावशेष बनेको थियो, आसपासमा विरोध प्रदर्शन हुँदा प्रदर्शनकारीहरूले “पुरै हटाइदेउ” भन्दै नारा लगाएका थिए। सन १९६७ मा हसिना र वाजेद मियाँको विवाह राजनीतिक अशान्तिका बीच भएको थियो। त्यो सम्बन्धलाई दृढताका रूपमा हेर्ने गरिन्थ्यो। तर आज, त्यही मिति उनको ‘राजनीतिक पतन’ को प्रतीक बनेको छ।
देश हालै मात्र १५ वर्ष लामो शासनबाट मुक्त भएको छ, तर जुलाई २०२४ को ‘कोटा आन्दोलन’ का घाउहरु अझै बल्झिएका छन्।
अब प्रश्न के छ रु
1. के यो फैसलाले पीडितका घाउ निको पार्नेछ ?
2. कि देशलाई फेरि गृहयुद्धतिर धकेल्नेछ ?
भारतले प्रतिक्रिया दिएको छ, हामीले यसलाई नोट गरेका छौँ र संवाद गर्दैछौँ”
ढाकाले हसिनाको प्रत्यर्पणको माग गरेको छ ।
सरकार प्रमुख युनुसले यसलाई “ऐतिहासिक फैसला” भने, तर उनले संयमको आग्रह पनि गरे ।
तर आवामी लीगले चुनाव बहिष्कार र विरोधको घोषणा गरिसकेको छ।
बंगलादेश अब सबभन्दा कठिन मोडमा छ ।
व्यक्तिगत र राष्ट्रिय इतिहास एकै दिन ठोक्किएको यो क्षण भविष्यलाई नै पुनःनिर्माण गर्ने मोड बन्न सक्छ।
- dhankutapress