धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/जेष्ठ नागरिकहरुको अधिकार ऐन, कानुनमा व्यवस्था भएनुसार व्यवहारमा कार्यान्वयन नभएको वुधवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले जेष्ठ नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा हिडडुल गर्दा सहज वातवरण बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।
नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले धनकुटामा आयोजना गरेको ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपभोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण बिषयक कार्याशाला गोष्ठी’ मा सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
एक दिने कार्यशाला गोष्ठीको उद्घघाटन गर्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले जेष्ठ नागरिकको ज्ञान, सीप रुपान्तरण हुँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताए । आधुनिकताले ढाक्दै गएको नेपालीे समाजले जेष्ठ नागरिकको कुरा सुन्न नचाहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले भने–‘अबको दिनमा नेपाली समाजमा जेष्ठ नागरिकहरुलाई प्रेमिल ढंगले संगसगै अघि बढाउनु पर्छ ।’
गोष्ठीमा जेष्ठ नागरिक संघ कोशी प्रदेश सदस्य हरिकृष्ण जोशीले जेष्ठ नागरिकहरुले अस्पताल जाँदा, बिजुलीको बिल तिर्न जाँदा, पानीको बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताए । त्यसैगरी मानवअधिकारकर्मी देवी बाँस्कोटाले जेष्ठ नागरिकहरुको मानव अधिकारको लागि कानुनले व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको वताए । उनले जेष्ठ नागरिकहरुको लागि जताततै वृद्धाश्रम खोलिनु सामाजिक न्यायको दृष्ट्रिकोणले राम्रो नभएको वताए ।
यस्तैगरी जेष्ठ नागरिक जिल्ला संघ धनकुटा अध्यक्ष रामबहादुर श्रेष्ठले सार्वजनिक यातयातमा आरक्षण र भाडा छुटको कार्यान्वयन नभएको गुनासो गरे । उनले अस्पतालमा पनि ५० प्रतिशत छुट कार्यान्वयन नभएको बताए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उप–सचिब सविता अर्यालले जेष्ठ नागरिकको बारेमा छुट्टै ऐन तथा कानुन आएको र त्यसको कार्यान्वयनमा सरकार लागि परेको बताएकी छन् । उनले अधिकार लिनको लागि जेष्ठ नागरिकहरु संगठित भएर अघि वढ्नु पर्नेमा जोड दिए ।
उनले सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई कानुनको वारेमा जानकारी समेत दिएका थिए । त्यसका साथै अन्तरपुस्ता सीप हस्तान्तरण सम्वन्धि सहभागिहरु माँझ वृहत छलफल गरिएको थियो । यस्तै कार्यक्रमका सहभागीहरुले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सीपहरु महत्वपूर्ण मागर्दशन बन्नेमा जोड दिएका थिए ।
- Dhankutapress