धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/शहरी विकास मन्त्री सीता गुरुङले आफ्नो मातहतका कर्मचारीहरुलाई काम हतारमा भन्दा पनि गुणस्तरमा ध्यान दिन निर्देशन दिएकी छिन् ।
शहरी विकास मन्त्रालय अन्र्तगत कोशी पहाडी जिल्लाका विभिन्न स्थानमा संचालित आयोजनाको अनुगमन गरेर फर्किने क्रममा वुधवार साँझ सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको कार्यालय निरिक्षण गर्दै मन्त्री गुरुङले गुणस्तरीय काम हुन सकेन भने प्रश्न उठ्ने भन्दै काम हतारमा सक्ने होडवाजी भन्दा पनि गुणस्तरीय काममा ध्यान दिन निर्देशन दिएकी हुन् ।
मन्त्री गुरुङले कार्यालयमा आएका सेवाग्राहीलाई सहि सूचना दिन समेत निर्देशन दिइन् । ‘कार्यालयमा आउने सेवाग्राहीको अपेक्षा धेरै हुन्छ’ उनले भनिन् ‘कर्मचारीको वोली व्यवहारले गर्दा करोडौंको योजनामा जनतामा खुसी भन्दा वितृष्णा हुन सक्छ ।’ अहिलेसम्म मन्त्रालयको कार्यसम्पादन प्रगति १३ प्रतिशत रहेपनि चालु आर्थिक वर्षमा ८० प्रतिशत पु¥याउन लक्ष्य रहेको हुँदा सोही अनुसार कार्य गर्न समेत कर्मचारीहरुलाई अनुरोध गरिन् । उनले वहुवर्षिय राख्न नपर्ने योजनालाई तुरुन्त ठेक्का खोल्न निर्देशन दिइन् ।
उनले कर्मचारीहरुलाई फिल्ड पुगेर अल्छी नगरि काम गर्ने सुझाव दिइन् । स्थानीय स्तरमा पुगेर काम गर्दा जनप्रतिनिधिहरुको राजनीतिक इन्ट्रेस हुने हुँदा जनप्रतिनिधिहरुको एक पक्षिय कुरा सुनेर भन्दा पनि सवैसँग समन्वय गरेर काम गर्र्नु पर्ने वताइन् । केही काम गर्न अप्ठ्यारो परेको खण्डमा माथिल्लो निकायसँग सहयोग माग्न पनि सुझाव दिइन् ।
उनले भनिन्–‘स्थानीय जनप्रतिनिधिले भनिहाल्यो कुरा काट्न सकिएन भनेर काम गर्न भन्दा पनि जसरी सिफारिस भएर आएको योजना छ ।’ त्यो सँग सम्वन्धित व्यक्तिहरुसँग समन्वय गरेर काम गर्न अनुरोछ गर्दछु । कार्यक्रममा कार्यालयको हालसम्मको कार्यप्रगतिको वारे सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमनप्रसाद मिश्रले प्रस्तुती राखेका थिए ।
- Dhankutapress