सन्तवीर लामा
धनकुटा– कुकुरको टोकाईबाट धनकुटामा एक दर्जन बढी मानिस बिरामी परेका छन। उनीहरुलाई रेविज लाग्नसक्ने आशंका चिकित्सकहरुले गरेका छन ।
बजार तथा गाउँमा बौलाह छाडा कुकुरले आतंक मचाउँदा गाउँमा सबै नागरिकहरु त्रसित भएका छन। कुकरले टोकेर घाइते हुनेमा धनकुटा नगरपालिका वडाहरु ५, ६ र ७ का स्थानीयहरु रहेका छन । घाइते मध्ये धनकुुुटा नगरपालिकाको चुुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घरभएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको धनकुटा अस्पतालका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिए ।
कुुकुुरको टोकाइबाट गम्भीर घाइते ६ बर्षिय बालक र ९० बर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको उनले बताए । बाँकी १० जना घाइते धनकुटा अस्पतालमा उपचार पछि घर फर्केको पोख्रेलको भनाइ छ ।
धनकुटाको प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले १२ जना व्यक्तिहरुलाई कुकुरले टोकेको जानकारी पाएको बताए । उनले कुकुर नियन्त्रण गर्न प्रशासनले प्रहरी परिचालन गरेको जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विञान प्रतिष्ठान पठाइएको छ । कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन ।
- Dhankutapress