धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य शिवकुमार मण्डलले पार्टी निर्माणको अभियान निरन्तर भएकाले यसमा सबै संधै सक्रिय हुनुपर्ने बताएका छन् ।
धनकुटामा माओवादी केन्द्र जिल्ला समन्वय समितिले आयोजना गरेको प्रस्तावित विधान मस्यौदा माथि छलफल तथा सुझाव संकलन कार्यक्रममा बोल्दै नेता मण्डलले यस्तो वताएका हुन् । उनले पार्टीको पहिलो पटक हुन लागेको विधान महाधिवेशनबाट बन्ने पार्टी विधान गलत बनेमा दुःख पाउने बताउँदै सबैले सहि विधान निर्माण तथा पार्टीको कार्यदिशा निर्माणमा सक्रिय सहभागिता जनाउनु पर्नेमा जोड दिए । उनले पार्टीको प्रस्तावित विधान मस्यौदा माथि संशोधनको प्रस्ताव वा सुझाव जिल्ला जिल्लामा संकलन गरि विधान महाधिवेशनमा प्रस्तुत गरिने समेत बताए ।
माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष कुशुम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि जिल्ला सचिवालय सदस्यहरुलाई ५ समूहमा विभाजन गरि प्रस्तावित विधान मस्यौदा माथि संशोधनको प्रस्ताव वा सुझाव संकलन गरिएको थियो । हरेक समुहले विधान मस्यौदामा छलफल गरि संशोधन प्रस्ताव र सुझाव केन्द्रिय सदस्य मण्डललाई बुझाएको थिए ।
नेकपा माओवादी केन्द्रले विधान महाधिवेशन आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौमा गर्ने तयारी गरिरहेको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी पुरानै नीति, पद्धति, विधिमा चलेको निष्कर्ष केन्द्रिय समितिले निकालेपछि बदलिँदो परिस्थिति अनुसार पार्टीलाई रूपान्तरण गर्न विधान महाधिवेशन गर्न लागेको माओवादी केन्द्र धनकुटा संयोजक कुशुम कुमारी श्रेष्ठले जानकारी दिइन ।
कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री तथा पार्टी केन्द्रिय सदस्य धनमाया विक, केन्द्रिय सदस्य डम्बर सुवेदी ‘हिमाल’, प्रदेश कमिटी सहसचिव कुमारी राई लगायत प्रदेश कमिटि सदस्यहरु, जिल्ला सचिवालय सदस्यहरु र विभिन्न जवस मोर्चाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
- Dhankutapress