धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/भारी वर्षाको कारण हुन सक्ने वाढी, पहिरो, भु–क्षय जस्ता घट्नाबाट हुन सक्ने सम्भावित क्षतिलाई न्युनिकरण गर्न प्रभावकारी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा विहिवार धनकुटामा सरोकारवालाहरु विच वृहत छलफल गरिएको छ ।
नेपाली सेनाको भीमदल गण धनकुटाको आयोजनामा सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी कसरी विपत व्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यले जिल्ला स्तरिय एकिकृत ’अभ्यास हातेमालो–५’ छलफल कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला विपद व्यवस्थापन समिति धनकुटाको संयोजनमा सम्पन्न भएको छलफल कार्यक्रममा विपदको समयमा आईपर्ने समश्या, चुनौतीहरुलाई सवै सरोकारवालाहरु मिलेर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रश्तुती तथा छलफल भएको थियो ।
छलफलमा भीमदल गण, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुशन्धान, उद्योग वाणिज्य संघ र स्थानिय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा काल्पनिक कथामा आधारित भएर टेवल अभ्यास समेत गरिएको थियो । सो अवसरमा प्रतिकार्य अभ्यासमा खोज उद्धारको लागि आवश्याक पर्ने सामाग्रीहरु पनि प्रर्दशन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सरोकारवाला निकाय र समुदायलाई सजग र सचेत अवस्थामा राख्न सके जस्तो सुकै विपद् आए पनि न्युनिकरण गर्न सकिने बताए । उनले जुनसुकै विपद् आई लागे पनि जिम्मेवारी वाँडफाँड गरेर व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनकुटा एकिकृत ‘हातेमालो कार्यक्रम–५’ मार्फत तयारी अवस्थामा रहेको वताए । ’धनकुटाका स्थानिय तहहरुले विपद् व्यवस्थापन त्यति ध्यान दिइरहेका छैन्न, यस विषयमा जनप्रतिनिधिहरुलाई झक्झक्याउन पत्रकारहरुलाई प्रजिअ गौतमले आग्रह गरे । उनले मनसुन जन्य विपद् न्युनिरकणका लागि ३० दिन लामो कार्ययोजना तयारी अवस्थामा रहेको समेत स्पष्ट पारेका छन् ।
भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले भने–’मनसुनको समयमा आईपर्ने विपद्को न्युनिकरण गर्न जिल्लाका सरोकारवालाहरुसंग समन्वय गरेर अघि वढ्न ‘अभ्यास हातेमालो–५’ कार्यक्रमको आयोजना गरिएको हो ।‘ उनले सरोकारवालासंग छलफल, खोज उद्धार तथा राहात वितरण देखि लिएर पुनःस्थापनासम्म कसरी गर्ने भन्ने विषयमा काल्पनिक अभ्यास गरिएको वताए । यस्तो अभ्यासले विपद्मा सामुहिक रुपमा समन्वय गरेर विपद् प्रतिकार्यमा परिचालन हुन सहजता ल्याउने विश्वास प्रमुख सेनानी थापाले गरेका छन् ।
छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, भीमदल गणका सेनानी नविन गुरुङ, जिल्ला रेडक्रस सोसाईटीका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु कुमार जोशी, सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेड क्वाटर छिन्ताङ धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका उदय शंकर शाहा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक डम्वर वहादुर थापा, धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठले आ–आफ्नो कार्यालयको तर्फबाट विपद् न्युनिकरणको लागि भैरहेको तयारीको विषयलाई लिएर प्रश्तुती दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, गैह्र सरकारी संस्था महासंघ, धनकुटाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भूजेल लगायतले मनसुनको कारण हुन सक्ने जोखिमका वारेमा जिज्ञासा राखेका थिए । अन्त्यमा भमिदल गण सल्लेरी व्यारेक परिसरमा विभिन्न प्रजातिका वृक्षरोपण कार्यक्रम समेत आयोजना गरिएको थियो ।
अन्य तस्विरहरु :

- Dhankutapress