धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/बालविवाह गरेको आरोपमा प्रहरीले दुई जना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एक जना गरी तीन पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–४ देब्रवासका १९ वर्षीय बेहुला नरेश मँगराती, धनकुटा नगरपालिका–६ कचिडेकी १५ वर्षीया बेहुली सफला खड्का र धनकुटा नगरपालिका–४ देब्रेवासका बेहुलाका बाबु ४० वर्षीय कृष्ण मँगराती रहेका छन् ।
बालबालिकाहरु परिवारको सल्लाहमा सोमबार विवाह गराइदिएको सूचनाका आधारमा प्रहरीले विबाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
डीएसपी कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिए । मंगलबारदेखि अदालती प्रक्रिया अघि बढ्ने र यस घटनामा अभिभावकहरु पनि अनुसन्धानको दायरामा पर्ने उनको भनाइ छ ।
बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाब दिए पनि केटाकेटीले भागेर विवाह गरेको जनाएको छ । बेहुलीका बाबु ४५ वर्षीय आशिक खड्काले गत वैशाख १ गते भागेर अन्तर्जातीय विवाह गरेको बताए । उनले सम्झाइ बुझाइ गर्दा पनि केही नलागेपछि छोडेको बताए ।
- Dhankutapress