धनकुटा प्रेस सम्वाददाता
धनकुटा/उदयपुरमा कार्यरत पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकारका गृहमन्त्री समक्ष बुधबार ज्ञापनपत्र बुझाइएको छ ।
समाचार लेखेकै आधारमा पत्रकार राईलाई साइबर क्राइममा झुटो मुद्दा दायर गरी पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाले बिनासर्त रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्नु पर्नेमा, साइबर क्राइममा झुटो मुद्दा चलाइएकाले हाम्रो गम्भिर आपत्ति छ । ’प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित पारिएकाले उनीमाथि लगाइएको मुद्दा खारेज गरी बिनासर्त रिहाइ गर्न गृहमन्त्री समक्ष जोडदार माग गरिएको हो ।
प्रहरी द्धारा पक्राउ परेका राई आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघिय समितिका सदस्य हुन भने नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सह–सचिव हुन् । राईलाई गएको मंसिर १० गते विना पक्राउ पुर्जि नियन्त्रणमा लिएको थियो ।
पत्रकार महासंघले बुझाएको ज्ञापनपत्रमा नेपाल प्रेस युनियन धनकुटा, प्रेस चौतारी धनकुटा, प्रेस सेन्टर धनकुटा, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा, संघिय प्रेस मञ्च धनकुटाले ऐक्यवद्धता जनाएका पत्रकार महासंघ धनकुटाका सचिब हरिबहादुर लम्जेलले जानकारी दिए ।
ज्ञापन पत्र वुझाउने क्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, प्रेस सेन्टरका इश्वर थापा, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पुर्व अध्यक्ष खगेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
- Dhankutapress