धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाका दलित मुक्ति आन्दोलनका अगुवा भद्रमान घलेको ९० वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । जिल्लाकै पुराना वामपन्थी नेता घले वि.सं.१९८९ सालको कात्तिक महिनामा जन्मिएका घलेको बिहीबार राति १ बजे विराटनगर स्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।
छोरा डा. सन्तोष घले भारतबाट आएपछि घलेको सनिवार धनकुटाको मुलघाट स्थित् तमोर नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम धनुकटा इन्चार्ज राजेन्द्र कुमार राईले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केीन्द्रय सदस्य एवम् धनकुटा सह–इनचार्ज शकुन्तला वस्नेत लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
घलेले वि.सं.२००९ सालमा साप्ताहिक बिहीबारे हाटमा दलित प्रवेश गर्न नपाइने अवस्थामा त्यसबेलाको जातिय विभेद अन्त्यका लागि अगुवाई गरेका थिए । हाटमा दलित प्रवेश गराएको आरोपमा उनले डेढ वर्ष जेल जीवन बिताउनु परेको थियो । कम्युनिष्ट सदस्यता दिनु अघि उनले २००३ सालदेखि पाँच वर्ष विराटनगर स्थित कोइराला निवासमा दौरा सुरुवाल र टोपी सिलाउने काममा बिताएका थिए । वि.सं.२००५ सालमा नेपाली कांग्रेसको सदस्यता समेत लिएका थिए ।
केही समय अघिको भेटमा उनले भनेका थिए, ‘मातृकाबाबु, गिरिजाबाबु, तारणीप्रसाद लगायतको धेरै वर्ष लुगा सिलाएँ, कोइराला परिवारले आफूलाई उचनिचको कहिल्यै भेदभाव नगरी एउटै भान्सामा खाना खुवाउने गर्थे ।’
वि.सं.२००७ सालमा राणा शासन विरोधी आन्दोलनमा पर्चा छर्ने काममा कोइराला परिवारसँगै उनी सक्रिय थिए । तर, वि.सं.२००८ सालमा धरानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको भाषणबाट प्रभावित भएर कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । मनमोहन अधिकारी, हिरालाल विश्वकर्मा, सहर्षनाथ कपाली लगायतको संगतले उनी वामपन्थी नेताको रुपमा स्थापित बनेका हुन् ।
वर्षौं कम्युनिष्ट आन्दोलनमा लागेका घले ८० वर्ष अघिदेखि पुख्र्यौली पेसाको रुपमा सिलाइकटाइबाटै जीविकोपार्जन गर्दै आएका थिए । जीवनको अन्तिम क्षणसम्म राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाक सिलाउन उनी तल्लीन थिए ।
। डेढ महिना अघि दमको बिमारले थलिनु अघिसम्म धनकुटा न.पा.५ स्थित बिहीबारे हाट नजिक घलेको छाप्रोमा राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाक बनाउनमै व्यस्त थिए । झन्डा बनाउन भने वि.सं.२०२२ सालदेखि सुरु गरेका थिए । संविधान दिवस, दसैं, लोकतन्त्र तथा गणतन्त्र दिवस जस्ता राष्ट्रिय पर्वमा उनलाई झन्डा बनाउने बाहेक अरु कामको फुर्सद नै हुन्न थियो । बिहान देखि बेलुकीसम्म कपडाको चन्द्र सूर्य चिह्न र झन्डाको लागि साइज नाप्दै सिलाई मेसिनमा खिटिरहनै व्यस्त हुन्थे । जिल्लास्थित अधिकांश न्यायिक, अर्ध न्यायिक निकाय, सरकारी कार्यालय र स्थानीय पालिकाको प्राङ्गण र कार्यकक्षमा फर्फराइ रहेको चन्द्र सूर्य अंकित राष्ट्रिय झन्डा उनैले बनाएका हुन् ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी रत्नबहादुर गुरुङले जिल्लाभरि वितरण गर्न एकै पटक दुई सय बढी झन्डा बनाउन अर्डर दिएपछि त्यसैलाई मुख्य पेसाको रुपमा अपनाउँदै आएका थिए । घलेले जीवनपर्यन्त आफ्नो लागि भन्दा दलित समुदायको उत्थान र पार्टीको लागि जीवन बिताएको एमाले नेता गोपाल गुरागाँईले बताए । वर्षौं कम्युनिष्ट आन्दोलनमा लागे पनि जिल्ला विकास समितिको सदस्य बाहेक राजनीतिक अवसर पाएनन् । सिलाइ कटाइ पेसाकै आम्दानीबाट उनले ४ छोरी र २ छोरालाई उच्च शिक्षा पढाए । जेठा छोरा सन्तोष एमबिबिएस डाक्टरको रुपमा भारतमा छन् ।अन्य काठमाडौं, विराटनर, जनकपुरमा छन् ।
- Dhankutapress