धनकुटा प्रेस सम्वाददाता
ताप्लेजुङ/पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा छ बुँदे सहमति भएको छ । सहमतिसँगै ८ दिनदेखिको यातायात बन्द फिर्ता भएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक (गृह मन्त्रालयका सह–सचिव) प्रेमप्रसाद भट्टराई र आन्दोलनरत समूहद्वारा गठित वार्ता समन्वय समितिका संयोजक अम्बर तुम्याहाङ नेतृत्वको समितिको सदस्य सरस्वता सिंघकले सहमति पत्रमा हस्ताक्षर गरेका छन्
पाथीभराको केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ । त्यसैगरी सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्ने र आन्दोलनका क्रममा थुनामा रहेको थुनुवाहरुको बिनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको छ ।
त्यसैगरी मुक्कुम्लुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने, मुक्कुम्लुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने सहमति भएको छ । यी दुई समितिबीच सोमबार ७ घण्टा र मंगलबार ११ घण्टासम्म वार्ता भएको थियो । मंगलबारको वार्तामा सरकारी पक्षले बन्दीलाई कानुनअनुसार रिहाइ गर्ने प्रस्ताव गरेको थियो भने आन्दोलनरत समूहले बिनासर्त रिहा गर्नुपर्ने प्रस्ताव गरेको थियो । सोही सहमति वमोजिम ताप्लेजुङमा पक्राउ परेका आन्दोलनका अगुवा प्रदीप मादेन सहितका तीन जना विनाशर्त रिहाई हुने भएका छन् ।
अन्ततः केवलकार निर्माण कम्पनीले स्टेशन माथिको काम मात्रै गर्न नपाउने भएको छ । आन्दोलनका क्रममा पक्राउ परेका ताप्लेजुङ, झापाको दमक र सुनसरीको धरानबाट पक्राउ परेका १८ जना बिनासर्त रिहा हुने भएका छन् । झडपका क्रममा घाइते भएकाहरुको उपचार यस अघिदेखि नै सरकारले गर्दै आएको छ ।
- dhankutapress