धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा भएको नमूना मतदानमा सहभागी वृद्धवृद्धा मतदाताहरुले साँच्चि कै चुनाब चिन्ह खोजे पछि मतदान स्थलमा खटिएका कर्मचारीहरुलाई सम्झाउनको हैरानी भएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सोमवार आयोजना गरेका नमूना मतदान कार्यक्रममा सहभागी वृद्धवृद्धा मतदाताहरुले साँच्चिकै चुनाव चिन्ह छैन त ? भन्दै खोज्न थाले पछि त्यहाँ खटिएका कर्मचारीहरुलाई सम्झाउनको हैरानी परेको हो । उनीहरुले आफूले मत दिन चाहेको पार्टीको चुनाब चिन्ह नमूना मतपत्रमा नदेखेपछि मतदान स्थलमा खटिएका कर्मचारीहरुलाई पटक÷पटक हातमा मतपत्र लिएर सोधेका थिए । नमूना मतदान भए पनि निर्वाचन कार्यालयले साँच्चि कै निर्वाचन नै हो कि भन्ने सर्वसाधरणलाई आभास हुने गरि व्यवस्थापन गरेकाले यस्तो भएको हुन सक्ने मतदान स्थलमा खटिएका एक सुरक्षा अधिकारीले बताए ।
नमूना मतदान कार्यक्रममा सर्वसाधरण नागरिक, जेष्ठ नागरिक, व्यापारी, किसान, यूवा सवै उमेरका मतदाता सहभागी भएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए । नमूना मतदान कार्यक्रममा करिव १ सय, ५० भन्दा वढीले भाग लिएको निर्वाचन अधिकारी श्रेष्ठले वताए । उनले मतदान स्थलमा जेष्ठ नागरिक, अपाङ, अशक्त, महिला, पुरुष सवै खाले मतदाताहरुलाई छुट्टाछुट्टै मतदान गर्न लाईनको व्यवस्था गरिएको जानकारी दिए ।
नमूना मतदान स्थलमा मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहा, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, राष्ट्रिय अनुशन्धान सहित चारै तहका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । नमूना मतदान कार्यक्रम जिल्लाको सातै वटा स्थानिय तहमा एकै साथ संचालन गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
- Dhankutapress