धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागि मुख्य दलका उम्मेदवारहरुले धनकुटामा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरु गरेर सोमवार आचासंंहिता उलंघन गरेको पाइएको छ ।
सत्तारुढ राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचन आचारसंहिता विपरीतका विभिन्न गतिविधि बढाउँदै लगिरहेको पाइएको छ । प्रमुख दलहरुले नै आचार संहिता विपरित घर दैलो अभियान सुरु गरेका छन् । सो घरदैलो अभियान आचारसंहिता विपरित रहेको छ । निर्वाचन आयोगको जारी गरेको निर्वाचन आचारसंहिता २०७९ विपरित राजनिति दलका उम्मेदवारहरुले घरदैलो अभियान गरेका हुन् ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ को उपदफा १ विपरित घरदैलो अभियान गरेको पाइएको छ । उपदफा १ मा रहेको म को ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र निर्वाचनलाई लक्षित गरेर चुनावी प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने उल्लेख छ ।
तर, धनकुटा नगरपालिका वडा नं.७ हुलाकटोलमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधीसभामा उम्मेदवार दर्ता गराएका नेपाली कांग्रेशका केन्द्रिय सदस्य सुनिलबहादुर थापाले घरदैलो कार्यक्रम गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रतिनिधीसभामा उम्मेदवार दर्ता गराएका एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईले पाख्रिबास नगरपालिका वडा नं.९ मातिम्बुमा घरदैलो कार्यक्रम गरेका हुन् । उम्मेदवार नै पक्का नभै घरदैलो अभियान सञ्चालन गर्नुको अर्थ नहुने र यो आचारसंहिता विपरितको काम भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले ब्लाष्टलाई जानकारी दिए । उनले आगामी अशोज २६ गते उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएपछि मात्रै आधिकारिक उम्मेदवार हुने बताए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन ०७९ धनकुटाका मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा हालसम्म लिखित रुपमा कुनै उजुरी नआएको बताए । उनले उम्मेदवार मनोनयन दर्ताको दिनदेखि आचारसंहिता कार्यान्वयनमा कडाइ गरिने बताए । सोमवार भएको भनिएको घरदैलो अभियानको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कुनै जानकारी नआएको पनि शाहले वताए । निर्वाचन आचारसंहिता दलहरुले पालन गरेको, नगरेको र उलंघनको विषयमा निर्वाचन आयोगले छुट्टै अनुगमन गर्ने पनि उनले बताए ।
- Dhankutapress