धनकुटा प्रेस सम्वाददाता
धनकुटा/पत्रकारिता क्षेत्रको सबलीकरणका लागि धनकुटामा स्थानिय पालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षहरुबिच विहिवार धनकुटामा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरसम्वाद कायृक्रममा वोल्ने जनप्रतिनिधिहरुले पत्रकारिता क्षेत्रको सबलीकरणका लागि पत्रकारहरु नै जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले धनकुटामा आयोजना गरेको पत्रकारिता क्षेत्रमा सबलीकरण गर्न तथा स्थानीय तहको भूमिकाबारे छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले स्थानीय तहले नीति निर्माण, कानुनी संरचना तथा पत्रकारिता क्षेत्रमा देखिएका अवसर तथा चुनौतीहरुको बारेमा अध्ययन गरिरहेको बताएका छन् । कार्यक्रममा बोल्दै धनकुटा नगर प्रमुख चिन्तन तामाङले पत्रकारिताको सबलिकरणको लागि स्थानिय सरकारले विशेष प्राथमकितामा राखेर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने–‘धेरै मिडियाहरुको कमाउ धन्दा चलिरहेको छ, स्थानिय सरकारले दह्रो कानुन् बनाएर नियमन गर्नु पर्छ ।’ नगर प्रमुख तामाङले थपे–‘पत्रकारहरुले आफ्नो मिडियामा कलम चलाउँदा गलतलाई गलत र राम्रोलाई राम्रो भन्न सक्नु पर्छ ।’
सो अवसरमा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई मिडियाले मागे जति दिने हो भने १ करोड पैसाले पनि नपुग्ने बताए । उनले पछिल्लो समयमा समाचार लेख्ने भन्दा पनि समाचार नलेख्ने वा मिडयामा काम नगर्ने पत्रकारहरु पालिकामा हावी भैरहेको बताए । यस्तै धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल र साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईले विभिन्न शिर्षकमा नगरपालिकाले पत्रकारिताको क्षेत्रमा बजेट विनियोजन गरेको बताए । महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कार्कीले पत्रकारले मिडियामा उपप्रमुख र उपाध्यक्षलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा धनकुटाका सञ्चारमाध्यमको अवस्थाको विषयमा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धतामा उपस्थित जनप्रतिनिधी र प्रमुख प्रशासकिय अधिकृतहरुले हस्ताक्षर पनि गरेका छन् । कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरु, अग्रज व्यक्तिहरु, स्थानीय सरकारका जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको उपस्थिति रहको थियो ।
- dhankutapress