धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिम जिल्ला समन्वय समिति धनकुटाले दुई दिने जिल्ला सभा तथा प्रगती समिक्षा कार्यक्रम आइतवार देखि शुरु गरेको छ ।
जिल्ला भित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि वर्षको कम्तिमा एक पटक वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने गरिएको छ । यसरी आयोजना हुने कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय संसद र प्रदेश सभा सदस्यहरुलाई आमन्त्रण गरी सूझाव लिनु पर्ने ऐनमा व्यवस्था छ । सोही ऐनको परिच्छेद १२ को दफ ९२ (ञ) वमोजिम जिल्ला समन्वय समिति धनकुटाले आ.व.०७९/०८० को वार्षिक प्रगती समिक्षा कार्यक्रम आयोजना गरेको हो ।

प्र्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा बार्षिक प्रगती समिक्षा गोष्ठी शुरु गरिएको हो । धनकुटा जिल्लामा रहेको स्थानिय तह, संघ तथा प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयका प्रमुखहरुले प्रगति प्रतिवेदन प्रश्तुत् गरे । त्यसैगरी जिल्ला स्थित् गैह्र सरकारी संस्थाहरुद्धारा भएको आ.व.०७९/०८० मा संचालित वजेट, योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा प्रगति प्रतिवेदन प्रश्तुत् भईरहेको छ ।
कार्यक्रमको पहिलो दिन कोष तथा लेखा नियन्त्रण कार्यालय, धनकुटाको विशेष प्रश्तुती रहेको थियो । त्यसैगरी कृषि अनुशन्धान केन्द्र पाख्रीवास, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय व्यवसायिक कृषि अनुशन्धान कार्यक्रम, पाख्रीवास, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले आ.व.०७९/०८० मा आ–आफ्नो कार्यालयले सम्पादन गरेको वजेट तथा योजनाको प्रगति प्रतिवेदन प्रमुखहरुले सार्वजानिक गरेका थिए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको अध्यक्षतामा सम्पन्न प्रगति प्रतिवेदन सार्वजानिक कार्यक्रमको उद्धघाटन सत्रमा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई, प्रदेस सभा सदस्य इन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । वार्षिक प्रगती समिक्षा कार्यक्रम २ दिनसम्म संचालन हुने जिल्ला समन्वय प्रमुख निरन तामाङले बताए । सो अवसरमा जिल्ला प्रशासन कार्यालय धनकुाटका प्रमुख थानेश्वर गौतमलाई कर्मचारी मिलन केन्द्र धनकुटाले सम्मान गर्दै भव्य विदाई गरेको थियो ।
- Dhankutapress