धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न सहयोग पु¥याउने उदेश्यले मंगलबार धनकुटामा भूकम्प सूरक्षा दिवश मनाइएको छ ।
‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाईन निर्माण गरौं, स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको साथ मनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटा, धनकुटा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाको संयोजनमा भूकम्प सुरक्षा दिवस मनाइएको हो । विभिन्न नारा लेखिएको पोष्टर लगायतका सामग्री बोकेर धनकुटा बजारमा प्रभातफेरी गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । जनप्रतिनिधि, जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरुको प्रभातफेरीमा सहभागिता रहेको थियो ।
धनकुटाको मदनचोकमा भेला भएर सहभागीले सामाजिक सचेतनाका वारेमा लेखिएको प्लेकार्ड बोकेर बजारको विभिन्न भागको परिक्रमा गरेका थिए । बजार परिक्रमा पश्चात धनकुटा नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भुकम्प सुरक्षात्मक भवन निमार्णको लागि ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला रेडक्रस सोसाइटी धनकुटाका सभापति छत्र श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
- Dhankutapress