Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

बेखर्ची भएपछि बिस्कुट उद्योग खोलेका टेकबहादुरको जीवन कथा

  •   ५ वर्ष अघि | १७ माघ २०७८, सोमवार

सन्तवीर लामा

धनकुटा/बस चढ्ने पैसा नभएर बेखर्ची हुनु परे पछि पैसा कमाउनका लागी बिस्कुट उद्योग खोलेका धनकुटा न।पा।१ हिलेका टेक बहादुर तामाङको दिनचर्या हिजो आज फेरिएको छ । १२ वर्ष पहिले काम विशेषले जिल्ला सदरमुकाम धनकुटा आउँदा गोजीमा सुको नभएपछि बेखर्ची भएर गाडी चढ्न नपाई हिँडेरै घर फर्किनु परेको तितो कथा टेक बहादुरको जीवनमा छ ।

पैसा कमाउन कै लागी टेकबहादुरले नेश्नल बिस्कुट उद्योग धनकुटा नगरपालिका वडा नं।१ हिलेमा स्थापना गरे । वि।सं।२०६६ सालमा ५० हजार लगानीबाट सुरु गरेको बिस्कुट उद्योगका सञ्चालक टेकबहादुर आज आएर लाखौँ रुपैयाँका मालिक भएका छन् । उनी यस अघि धन कमाउनु भनी वैदेशिक रोजगारीको सिलसिलामा कतार गएर १० वर्ष बसेर आए । कतारमा १० वर्ष बसेर कमाएको पैसाले केही गर्न नसकी बेखर्ची हुनु परेपछि आफूले पैसा कमाउने सोचले बिस्कुट उद्योग सञ्चालनमा ल्याएको टेकबहादुर बताउँछन् । उनको बुझाइमा विदेशको कमाई भनेको क्षणिकलाई मात्र हुने गर्दछ भन्दै तामाङले भने–‘स्वदेश मै केही न केही व्यापार, व्यवसाय वा उद्योग सञ्चालन गरे रोजगारीको स्थायित्व पाउने र पैसा पनि कमाउन सकिन्छ ।’

सुरुमा उनलाई बिस्कुट उद्योग सञ्चालन गर्ने सोच बनाए पनि कसरी बनाउने भन्ने ज्ञान थिएन । जीवनमा यस अघि उनले कहिले पनि बिस्कुट उद्योग देखेका थिएनन् । बिस्कुट उद्योग नै नदेखेका टेकबहादुरलाई उद्योग खोलेर बिस्कुट उत्पादन गरी पैसा कमाउने सपना पुरा गर्न चुनौती थियो । उनले सुरुमा धनकुटा नगरपालिका वडा नं।१ हिले न्यूरोडमा रहेको गणेश श्रेष्ठको शुभलक्ष्मी बिस्कुट उद्योगमा गएर बिस्कुट कसरी बन्छ भनेर नियालेका थिए । बिस्कुट बनाउन के के चाहिन्छ, कसरी बन्छ भन्नेबारे उनले राम्रोसँग अध्ययन गरे । 

उनी बिस्कुट उद्योगमा हेर्न शुभलक्ष्मी बिस्कुट उद्योगमा पुग्दा बेला सञ्चालक गणेश श्रेष्ठले भने घर बनाई रहेका थिए । बिस्कुट उद्योग सञ्चालन गरेर पनि घर बनाउन सकिने रहिछ भन्ने लागेपछि आफूले पनि बिस्कुट उद्योग खोल्ने निधो गरेको टेक बहादुर बताउँछन् । उनी वैदेशिक रोजगारीको क्रममा १० वर्ष कतार बस्दा ६ वर्ष जति बेकारी उद्योगमा काम पनि गरेका थिए । धनकुटा–१ हिलेको शुभलक्ष्मी बिस्कुट उद्योग हेरे पछि कतारको बेकारी उद्योगको याद आएको उनले बताए । तर कतारको जस्तो साधन, श्रोत, मेसिन औजारहरू जुटाएर बिस्कुट बनाउन सम्भव उनले देखेनन् । उनलाई हिलेको शुभलक्ष्मी बिस्कुट उद्योग हेरिसकेपछि धनकुटाको सबै भन्दा पुरानो नाम चलेको बिस्कुट उद्योगहरू मध्ये धनकुटा–४ मा रहेको मोहन बिस्कुट उद्योग पनि हेर्न मन लाग्यो । 

टेकबहादुरलाई धनकुटा–४ मा रहेको मोहन बिस्कुट उद्योगमा पुग्दा उद्योग भित्र छिर्न अनुमति पाएनन् । बिस्कुट उद्योग भित्र प्रवेश गर्न नदिए पनि बाहिर नै बसेर त्यहाँ काम गर्ने कामदारहरूसँग कुराकानी गर्दै उद्योग सञ्चालनको अवस्था र बनाउने तरिकाबारे सिकेको उनी बताउँछन् । उनले ५–६ दिनसम्म नियमित मोहन बिस्कुट उद्योगमा बिस्कुट कसरी, के के मिसाएर बनाउछन भनेर नजिक जान नदिए पनि अनुमान लगाए । 

करिब एक हप्ता जति मोहन बिस्कुट उद्योगमा हेरेर त्यहाँ कार्यरत एक जना कामदार लगेर आफ्नो घरमा बिस्कुट बनाउन थालेका थिए । सुरु सुरुमा मिस्त्रीले बनाएको हेरेको र केही वर्ष पछि देखी भने घर परिवार आफै मिलेर बिस्कुट बनाउन थालेको टेक बहादुर बताउँछन् । अहिले टेक बहादुरले बिस्कुट बनाउन थालेको १३ वर्ष पुगेको छ । उद्योग राम्रै चलेको थियो, कमाई पनि राम्रै थियो । कामदार राखेर काम गरिन्थ्यो तर पछिल्लो २–३ वर्षयता भने कोरोनाले गर्दा लकडाउन भएपछि कामदार हटाएर परिवारको सदस्यहरूले मात्र बिस्कुट वनाउँदैछौं टेक बहादुरले भने । पछिल्लो ३ वर्ष यता बिस्कुट घर परिवारले नै बनाइरहेका छौँ, घर परिवारले नबाउँदा जान्ने मिस्त्री राख्दा मासिक १५ हजार दिनु पर्दथ्यो, त्यो अहिले बचेको उनले थपे । टेकबहादुरले उ वेला जान्ने मिस्त्री १ जनालाई मासिक १५ हजार, हेल्फर २ जनालाई ८र८ हजारको दरले तलब दिएर काम लगाउँथे । ६ जनाको परिवार रहेको टेकबहादुरले ३ जनाले बिस्कुट बनाइरहेका छन् ।

उद्योगमा लगानी :

विदेशमा कमाएको पैसा नेपाल आएर त्यतिकै केही नगरी सकेर बेखर्ची भएपछि ६० हजार ऋण लिएर बिस्कुट उद्योग स्थापना गरेका टेकबहादुरले अहिले २५ देखी ३० लाख रुपैयाँ लगानी गरेका छन् । सुरुमा बिस्कुट बनाउन कच्चा पदार्थ भन्दा पनि बिस्कुट पकाउने भड्डी बनाउन अलिक बढी लगानी र मेहनते लागेको थियो । बिस्कुट पकाउने भड्डी बनाउँदा स्थानीय श्रोत साधन नै परिचालन गरेर बनाइएकाले थोरै खर्चमा निर्माण गरिएको उनले बताएका छन् । उबेला रेडिमेड इँटा नल्याईकन लोकल इँटाबाट नै भट्टी निर्माण गरेका थिए । सडक विस्तारले गर्दा अहिलेसम्म २ पटक भट्टी निर्माण गर्नु परेको छ । 

धनकुटा नगरपालिकाको प्रविधि सहयोग र लगानीले बिस्कुट उद्योगको स्तर उन्नति भएको छ । पहिले पहिले माटोको भाडाबाट बिस्कुट बनाइन्थ्यो भने आज आएर आधुनिक उपकारणहरू उद्योगमा जोडिएका छन् । अघिल्लो वर्षसम्म पुरानै तरिकाले बिस्कुट पकाइन्थ्यो भने हिजो आज धनकुटा नगरपालिकाले अनुदानमा उपलब्ध गराएको ओभनमा बिस्कुट पकाउने गरेको टेक बहादुर बताए । उनले पुरानो तरीकारले भन्दा पनि नयाँ प्रविधिबाट ओभनमा पकाउँदा समयको बचत, वातावरण र  स्वास्थ्यको दृष्ट्रिकोणले धेरै सहज भएको छ ।

बिस्कुट पकाउने किस्तीहरू पुराना थिए भने हिजोआज नयाँ खरिद गरिएको छ । धनकुटा नगरपालिकाले आ।व।०७७/०७८ मा अनुदानमा बिस्कुट पकाउने ओभन खरिद गरी दिएको   तामाङले बताएका छन् । उनले भने–‘धनकुटा नगरपालिकाको ७० प्रतिशत र उद्योगको ३० प्रतिशत गरी जम्मा २ लाख, ६० हजारमा ओभन खरिद गरिएको छ ।’ ओभन ल्याएपछि प्रदूषण कम भएको छ भने बिस्कुटको आइटमहरू पाउरोटी, ब्रेड, वर्थ–डे केक, पार्टी केक र सुख्खा नरिवल बिस्कुटहरू बनाउन सहज भएको छ–तामाङले थपे । नगरपालिकाले खरिद गरी दिएको ओभनमा बिस्कुट पकाउँदा समयको बचत, स्वास्थ्यको दृष्ट्रिकोणले धुवा धुलो कम भएको छ र बिस्कुटको स्वादमा पनि फरक आएको छ । उनले बजारमा उपभोक्ताको माग अनुसार बिस्कुट फरक फरक स्वादमा बनाउने गरेका छन् । 

पाउरोटी, ब्रेन र डोनट जस्ता बिस्कुटलाई आजै बनाएर, आजै बजारमा बिक्री गरिसक्नु पर्ने हुन्छ, किनभने चाँडै डेट जाने भएकोले मागअनुसार मात्र बनाइन्छ । यी बिस्कुटहरू सामान्यतया एक दिनको लागी मात्र हुन्छ । सुख्खा खालको बिस्कुटहरू जस्तो नरिवल, कुकिज, कुकिस आदी चाहिँ धेरै बनाए पनि हुने तामाङ बताउँछन् । 

आम्दानी र खर्च :

बिस्कुट उद्योगमा आम्दानी भनेको काम गरेअनुसार हुने गरेको टेक बहादुरले बताए ।  स्टाफले गरेको र घर परिवारले गरेको काममा केही अन्तर पर्ने गरेको छ । लगानीको १५ देखी २० प्रतिशत बिस्कुट उद्योगमा फाइदा हुने गर्छ । वार्षिक रूपमा आफ्नो उद्योगमा १० देखी १२ लाख बराबरको कारोबार हुने गरेको छ । वार्षिक रूपमा ३ लाख रुपैयाँ खर्च कटाएर चोखो आम्दानी हुने उनी बताउँछन् ।

सामाजिक प्रतिष्ठाको विषय बनेको : सबै भन्दा खुसीको कुरा भनेको धनकुटा हिलेको पहिचान नरिवल बिस्कुटको अस्तित्व जोगाउन सकिएको छ । तेह्रथुम जाँदा तेह्रथुमे ढाका खोजे जस्तै धनकुटा हिले आउँदा आन्तरिक तथा बाह्य पर्यटकले धनकुटा हिलेको नरिवल बिस्कुट लाने गरेका छन्, त्यो सारै खुसीको कुरा हो । मान्छेहरूले धनकुटा हिले आएपछि के लाने त भन्दा हिलेमै आएर भए पनि धनकुटे बिस्कुट लाने भनेर कोसेली लाने गरेको उनी छन् । बिस्कुट उद्योग चलाई रहँदा आफूले बिस्कुट बनाएर बजारसम्म पुर्‍याउँदा र खाजाको रूपमा चियासँग सबैले खाई दिँदा ज्यादै खुसी लाग्छ । नेश्नल बिस्कुट उत्पादन गर्ने बिस्कुट उद्योगको मालिक भनेको टेकबहादुर गोङ्गवा हो है भनेर सबैले चिन्ने गरेका छन् र गौरव लाग्छ । 


भावी लक्ष्य :

अवको लक्ष्य भनेको हिजो बजार भन्दा आजको वजार धेरै फरक भएकाले आफ्नो व्यवसायलाई पनि समयअनुकुल परिवर्तन गर्दै लाने रहेको छ । पहिले ढोकोमा बिस्कुट बोकेर हिले, उत्तरपानी, हात्तिखर्क, चुलाचुली, त्रिशुले लगायतको स्थानमा पुग्ने टेक बहादुर हिजोआज मोटर साइकलमा बिस्कुट पुर्‍याउने गर्दछन् । पहिले बिस्कुट चाहिन्छ भनेर सोध्दै जानु पर्दथ्यो भने अहिले हामीलाई बिस्कुट चाहियो भनेर फोनबाट बिस्कुटको अडर हुने गरेको छ । त्यसैले अब मोटर साइकलमा नभएर वजार बिस्तारसँगै लगानी गरेर चारपाग्रे गाडीमा बिस्कुट उपभोक्तासम्म पुर्याउने उनको ठुलो धोको छ ।हिजो आज उनको नेश्नल बिस्कुट स्थानीय बजारमा मात्र नभएर धनकुटा बाहिर काठमाण्डौं, चितवन, खाँदवारी, भोजपुर, सङ्खुवासभा, तेह्रथुम लगातयको बजारसम्म जाने गरेको छ । नेश्नल बिस्कुटको स्वादलाई धनकुटा बाहिरको जिल्लामा पनि मन पराई दिएकाले माग भने बढेको छ र अडर पनि होलसेलमा आउने गरेको टेक बहादुर बहादुरले बताए । काठमाण्डौमा मार्क भन्ने संस्थाले आफ्नो नेश्नल बिस्कुट वर्षौँ देखी बिक्री गर्ने गरेको छन् । 

स्थानीय सरकार नगरपालिकाको भूमिका :

धनकुटा नगरपालिकाको २ लाख अनुदान सहयोगमा आ।व।०७७÷०७८ मा बिस्कुट पकाउनको लागी ओभन खरिदले उनलाई ठुलो सहयोग पुगेको छ । धनकुटाको कोसेलीको रूपमा पहिचान भनेको धनकुटाको नरिवल बिस्कुट अथवा धनकुटे बिस्कुट भएकाले नगरपालिकाले विभिन्न वडामा छरिएर रहेका बिस्कुट उद्यमीहरूलाई सङ्गठित गरेर छाता सङ्गठन निर्माण गरिदिए हुन्थ्यो भन्ने तामाङलाई लागेको छ । त्यसो भयो भने बिस्कुट उद्योगहरूबाट उत्पादन हुने बिस्कुटको गुणस्तर कायम गर्न, बजारीकन गर्न स्वादमा एकरूपता ल्याउन र नेपालमा मात्र हैन विश्व बजारसम्म धनकुटाको नरिवल बिस्कुटको वजार विस्तार गर्न सहज हुने थियो भन्ने अनुरोध नगरपालिकासँग टेकबहादुरको छ । अहिले धनकुटामा उत्पादन भैरहेको नरिवल बिस्कुटको गुणस्तर स्वादमा एकरुपता आउन सकेको छैन । जुन खालको पहिचान धनकुटे बिस्कुटको हिजो देखी आजसम्म पनि छ, यसलाई जोगाउनको लागी पनि उद्यमीहरूमा एकता आवश्यक छ । अहिलेसम्म धनकुटे नरिवल बिस्कुट उत्पादन गर्ने उद्योगी व्यावसायीहरु सङ्गठित हुन सकेका छैनन् । उनले भने अहिलेसम्म कति बिस्कुट उत्पादन हुन्छ, बजारमा कति खपत हुन्छ र मासिक वा वार्षिक रूपमा कति आम्दानी हुन्छ भनेर मुल्याकन गर्ने निकाय नभएको टेकबहादुर बताउँछन् । 

डिजिटल शिष्टमबाट बिस्कुट उद्योगमा काम गर्दा धुवाँ नआउने, मिख्चरले गर्दा पिठो मुस्न पनि सजिलो हुने, सजिलै पिठो मुसिने र बिस्कुट पाक्दा पनि एकै पटमा पाक्ने भएकाले प्रविधिको सहयोग नै मुख्य आवश्यक देखिएको तामाङले औँल्याएका छन् । मेसिनबाटै सबै काम गर्न मिल्ने प्रविधि आएकाले समयानुसारको आधुनिक प्रविधि उपयोगको लागी बिस्कुट उद्यमीहरूलाई अनुदान सहयोग आवश्यक रहेको टेकबहादुर औल्याउँछन ।

धनकुटा नगरपालिकामा दर्ता भएका व्यापारिक वा व्यावसायिक फर्महरू मध्ये सबै भन्दा बढी नगरपालिकामा दर्ता भएको फर्महरू ८ सय ४० वटा रहेको नगरपालिकाले जनाएको छ । धनकुटा नगरपालिकाका सूचना अधिकारी डम्बर रोगुले धनकुटा स्थित घरेलुमा दर्ता भएका ५ सय ३१, कम्पनीमा दर्ता भएका ३ सय ७, वाणिज्य कार्यालयमा दर्ता भएका ४ सय ३, उद्योगमा दर्ता २ सय १४ र अन्यमा ३१ गरी विभिन्न प्रकृतिका जम्मा २ हजार २५ वटा उद्योग दर्ता रहेको बताएका छन् । 

दर्ता रहेका मध्ये विभिन्न प्रकृतिका ४३ वटा साना र ४४ वटा घरेलु उद्योग सञ्चालनमा रहेको सूचना अधिकारी तथा प्रशासकीय अधिकृत रोगुले बताए । सञ्चालित उद्योगहरूबाट वार्षिक रूपमा १ करोड, ४ लाख, ४० हजार, १ सय ३८ रुपैयाँ आम्दानी हुनुको साथै ३ सय ३२ जनाले रोजगारी पाएको नगरपालिकाको तत्थ्याङ्गकमा उल्लेख रहेको उनले बताए । नगर क्षेत्रमा १ सय ६० व्यापार व्यवसाय र ४८ वटा विभिन्न किसिमका होटलहरु सञ्चालनमा रहेको पनि उनले स्पष्ट पारेका छन् । 

धनकुटा नगरपालिकामा नगर प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाको अर्थ तन्त्र बलियो बनाउन उत्पादनलाई सबै भन्दा बढी जोड दिइएको र उत्पादित बस्तुहरूलाई अन्यत्र निर्यात गर्ने वातवरण बनाइरहेको बताए । प्रमुख तामाङले जसका लागी लगानीमैत्री वातावरण, सार्वजनिक, निजी साझेदारी, युवा उद्यमशीलता विकास कार्यक्रम, अभिमुखीकरण तालिम जस्ता क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताएका छन् । 

घरेलु तथा उद्योग विकास कार्यालय धनकुटाको तत्थ्याङ्गकमा धनकुटा नगरपालिका भित्र १३ वटा बिस्कुट उद्योगहरू दर्ता रहेका छन् । कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार धनकुटा नगर भित्र मोहन बिस्कुट उद्योग धनकुटा–४, भीमसेन बिस्कुट उद्योग धनकुटा–४, सुवास बिस्कुट उद्योग धनकुटा–२, न्यु बाबा लोकनाथ वेकारी उद्योग धनकुटा–५, अर्जुन बिस्कुट उद्योग धनकुटा–७, ॐ बिस्कुट उद्योग धनकुटा–६ बाख्रे खोला, विष्णु बिस्कुट उद्योग धनकुटा–७, शर्मिला बिस्कुट उद्योग धनकुटा–७, शुभलक्ष्मी बिस्कुट उद्योग धनकुटा–१ हिले, महिमा बिस्कुट उद्योग धनकुटा–१ हिले, तपस बिस्कुट उद्योग धनकुटा–५ रहेको छ । त्यसै गरी न्यु इदिनिशा कुरमुरे उद्योग धनकुटा–४, गणेश काजु उद्योग धनकुटा–४, राजेश चिप्स उद्योग धनकुटा–४ र ग्लोबल अचार उद्योग धनकुटा–७ रहेको छ । 

  • Dhankutapress

थप