धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आगामी वैसाख ३० हुन गईरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा धनकुटामा पाँचदलिय गठबन्धन र एमालेवीच निक्कै कडा प्रतिस्पर्धा देखिएको छ ।
वि.सं.२०७४ सालको स्थानीय निर्वाचनमा क्लिन स्वीप गरेको नेकपा एमालेलाई पुरानो विर्ता जोगाउन र पाँचदलिय गठबन्धनलाई एमालेको लाल किल्ला भत्काउन निक्कै ठूलो सकस परेको छ । एक्ला एक्लै चुनाव लड्दा पालिका जित्न नसकिने र पहिले जितेको वडा समेत गुम्ने खतरा वढेपछि गठबन्धनमा उत्रिएका कांग्रेस, समाजवादी, जसपा र माओवादीले गठवन्धनबाटै चुनाव लड्ने तयारीको साथ अघि वढीरहेका छन् । यता एमालेले पनि उम्मेद्धवार मनोनयनसंगै आफ्नो पुरानो लालकिल्ला जोगाउन टोलटोलमा व्यापक चुनावी अभियानमा जुटेको छ । एमालेसँग पुरानो जनाधार र स्थानीय सरकारले गरेका कामसँगै संघीय र प्रदेश सांसदहरुले गरेका विकासका कार्यक्रमहरुले चुनाव जित्ने बलियो आधार बनाएको छ ।
वि.सं.२०७४ सालको निर्वाचन परिणामलाई आधार बनाउने हो भने एमालेलाई चुनाव जित्न सहज देखिन्छ । यदी गठबन्धन इमान्दारिताको साथ कार्यन्वयन भए धनकुटा नगरपालिकामा बाहेक अन्य पालिकामा एमालेलाई सकस नभएको टिप्पणी रहेको छ । धनकुटा नगरपालिकामा गएको निर्वाचनमा एमालेका मेयर पदका उम्मेद्धवार चिन्तन तामाङले ४ हजार, ९ सय ३३ मत प्राप्त गरी विजयी भएका थिए । कांग्रेसले ४ हजार, ८ सय १९ मत, माओवादीले २ हजार, ५ सय ३७ र राप्रपाले २ सय ८४ मत प्राप्त गरेका थिए । पहिलो निर्वाचनमा धनकुटामा जसपाले कांग्रेससँग समिकरण गरेको थियो ।
धनकुटा नगरपालिकाको तत्कालिन मतको तुलना गर्दा गठबन्धनलाई सहज देखिन्छ । तर पछिल्लो पटकमा माओबादीबाट विजयी भएका धनपा–९ का वडाध्यक्ष सन्दिप रायमाझी (मनोज) सहित करीब एकहजार जना माओबादीका मतदाता र कार्यकर्ता एमालेमा आएका छन् । त्यस्तै कांग्रेसबाट समेत २ सय भन्दा बढी एमालेमा आएका छन् । यी बाहेक धनकुटाका स्वतन्त्र मत समेत यसपटक एमालेसँग हुने भएकाले जित्न कठिन नभएको एमाले धनकुटा नगरका नेता नगेन्द्र पोख्रेलको भनाइ रहेको छ ।
धनकुटा नगरपालिकामा आठपहरिया, तामाङ, नेवार क्षेत्रीबाहुन गरी चारथरी जातका मतदाताको बाहुल्यता रहेको छ । जातीय आधारमा पनि १५ देखि २० प्रतिसत मत तलमाथी हुने भएकाले राजनीतिक दलका उम्मेद्धवारलाई हारजितको टुंगो लगाउने सम्भावना समेत रहेको छ । गएको निर्वाचनमा कांग्रेसले दिनेश आठपहरिया र एमालेले चिन्तन तामाङलाई मेयरमा उम्मेद्धवार बनाएकोमा यस पटक पनि दुवै जना उम्मेद्धवार दोहोरिएका छन् । दुवै उम्मेद्धवारले आ–आफ्नो जातीय बाहुल्यता भएको वडाबाट ७० देखि ८० प्रतिसत मत प्राप्त गरेका थिए । धनकुटा नगरमा आठपहरिया जातीको बहुल्यता रहेकाले कांग्रेस उम्मेदवारले धेरै मत पाएका थिए । त्यही भएर थोरै मतान्तरमा मात्रै एमालेका चिन्तन तामाङले जितेका थिए ।
तर उपमेयरमा एमालेकी तत्कालिन उपमेयरमा शकुन्तला वस्नेत भने भारी मतअन्तरले जितेको थिए । उपमेयर एमालेकी बस्नेतले ५ हजार,४ सय ६४ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार, ६ सय २३ मत प्राप्त गरेकी थिइन् । एमालेबाट मात्रै क्षेत्री बाहुन समुदायबाट उम्मेदवार भएकाले उपमेयरमा एमालेले भारी मत पाएको थियो । यही अवस्था यस पटकको निर्वाचनमा समेत एमालेकी उपमेयर भिमा खनालले पनि यसरी नै मत ल्याउने आँकलन गरिएको छ । त्यसैले हारजितको अवस्था भने जसरी नहुने स्थानीय पहिचानवादी नेता प्रेम सुब्बाको भनाइ रहेको छ ।
अघिल्लो निर्वाचन यता एमालेबाट विजयी भएका मेयर चिन्तन तामाङले सबै भन्दा बढी आठपहरिया र क्षेत्रीबाहुन बाहुल्य वडामा काम गरेका छन् । फेरी पनि उनी नै एमालेको उम्मेद्धवार बनेकाले ब्यक्तिगत ५ सय देखि १ हजार मत थपिने अवस्था समेत रहेको छ । धनकुटा नगरपालिकामा गठबन्धनबाट कांग्रेस र माओबादीले मेयर र उपमेयरमा मनोनयन दर्ता भएको छ । दिनेश राईले टिकट पाए जातीय मत र गठबन्धनको मतले बलियो उम्मेद्धवारको रुपमा देखिएको छ ।
गठबन्धनले सहजै जित्न सकिने पालिकाको सुचिमा धनकुटा नगरपालिका राखेको नेपाली कांग्रेस धनकुटाका प्रचार विभाग प्रमुख खगेन्द्र घिमिरेले बताएका छन् । यसपटक कांग्रेसको संगठन विस्तार भएको भन्दा पनि गठवन्धनले गर्दा केही मात्रामा मतदाता वढ्ने अनुमान छ । एमाले फुटेर नेकपा (एस) भएकाले मत केही मात्रामा घट्ने हो कि भन्ने दावी गठवन्धनको छ । माओवादीको समेत मत थपिने भएकाले धनकुटा नगरपालिकामा कांग्रेसको उममेद्धवारले सजिलै जित्न सक्ने दावी घिमिरेको छ । तर एमालेले ५ वर्षसम्म स्थानिय सरकार संचालन गरेर जनताको सेवा गरेकाले जित चिन्तन तामाकै हुने हिलेका युवा व्यवसायी एवं पर्यटन व्यवसायी फूर्वा घिसिङ तामाङले ठोकुवा गरेका छन् ।
धनकुटा नगरपालिकामा २२ हजार, ९ सय ६४ मतदाता रहेका छन् । ७० प्रतिसत मतदान भए करीब १६ हजार मतदान हुनेछ । यो अवस्थामा एमाले र गठबन्धनलाई चुनाव जित्न मतदाता बढाउनु पर्ने देखिन्छ । राप्रपा, अन्य साना दल र बदर मतसहित एक हजार घटाउँदा पनि जित्नको लागि कम्तिमा ७ हजार ५ सय मत ल्याउनु पर्ने अवस्था रहेको छ ।
- Dhankutapress