धनकुटा प्रेस सम्वादाता
निलम स्याङ्गदन
उत्तरपानी/जिल्लाको पाख्रिवास नगरपालिका–९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको सोमवार आगोले जलेर मृत्यु भएको छ ।
सोमवार बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्कँदा मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी हिलेका इन्चार्ज पर्शु विष्टले धनकुटा प्रेसलाई जानकारी दिए ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आएको प्रहरी एक टोलीले घटना स्थलमा पुगी घट्नाको विषयमा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरी इन्चार्ज विष्टले बताए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता सुरज कार्कीले घरमा कोही नभएको वेला आगो लागेको भनिएको छ । उनले मान्छे जलिरहेको देखेर छिमेकीले आगो निभाएको बताए । तर उनले भान्सामा खाना पकाउने क्रममा आगो लागेको आशंका गरेका छन् । डिएस्पी कार्कीले आगो कसरी लाग्यो भन्ने विषयमा थप अनुशन्धन भैरहेको बताएका छन् ।
शिव मायाको शरिर आगोले पुर्ण रुपमा जलेको छ । शिवमाया आगोमा जलिरहेको समयमा उनको श्रीमान घरमा थिएन्न । छोरा वारीमा काम गर्दै थिए भने वुहारी दाउरा खोज्न जंगल गएका थिए । त्यही समयमा शिवमाया घरैमा वसेर खाना पकाउने क्रममा चुलाबाट आगो सल्किएको हुन सक्ने डिएस्पी कार्कीले बताएका छन् ।
- Dhankutapress