धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान एवं उद्यमीहरुलाई प्रोत्साहनका लागि नगरपालिकाको प्राङ्गणमा मगलबार एक दिने प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।
पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर एभोकाडो प्रदर्शनी कार्यक्रमको समुद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धनमा सघाउ पुर्याएको धारणा राखे ।
स्थानीय किसानले फलाएका फलफूल, तरकारीसहित स्थानीय उद्योगले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको थियो । २२ वटा स्टलमार्फत गरिएको प्रदर्शनीमा एभोकाडोका स्टल धेरै थिए । प्रदर्शनीमा एउटै एभोकाडो १ किलो २ सय ३० ग्रामसम्मको थियो ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भएको प्रदर्शनीमा करिब १ हजार ४ सय जनाले स्थानीय उत्पादन अवलोकन गरेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । पाँच बर्ष अघि धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर धनकुटा नगरपालिकाले यसको प्रवद्र्धनमा विभिन्न गतिविधि गर्दै आएको छ । धनकुटा नगर क्षेत्रको विभिन्न वडामा अहिले ४ हजार, ९ सय २६ परिवारले १२ हजार, ९९ रोपनी क्षेत्रफल जमिनमा एभोकाडो खेति गर्दै आएका छन् । धनकुटा नगर क्षेत्रमा एभोकाडो खेति गर्ने किसानको संख्या बर्षेनी बढिरहेको छ ।
- dhankutapress