धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/वैदेशिक रोजगारीमा गएर फर्किएका, वैदेशिक रोजगारीको कारण वेरोजगारी बनेका र स्वदेश मै वसेर केहि गर्छु भन्ने व्यवसायिहरुको क्षमता विकासको लागि मंगलवार यहाँ सचेतना गोष्ठी संचालन गरिएको छ ।
अन्तराष्ट्रिय आप्रभासी संगठन (आइओएम) को सहयोगमा धनकुटा नगरपालिकाको १० वटै वडामा संचालित स्वरोजगार कार्यक्रममा सहभागी व्यवसायीहरु माँझ क्षमता विकास तथा दिगोपना सम्वन्धि सचेतना गोष्ठी संचालन गरिएको हो ।
नेपाल विकास अध्ययन संस्थान (निड्स) को आयोजनामा सम्पन्न सचेतना गोष्ठीमा वोल्दै अन्तराष्ट्रिय आप्रभासी संगठन (आइओएम) का १ नम्वर प्रदेशका संयोजक पवित्रा सुब्बाले धनकुटा नगरक्षेत्रमा स्वरोजगार कार्यक्रमको लागि १८६ जनाले भाग लिएको वताए । उनले २७ महिना अघि देखी संचालन गरिएको स्वरोजगार कार्यक्रममा सहभागीहरुलाई व्यवसायी बनाउन अनुदान सहयोग गरिएको वताईन । शुरुको चरणमा सहभागी १ सय ८६ मध्ये १८ जनाले दोश्रो किस्तासम्म आईपुग्दा छोडि सकेको भन्दै संयोजक सुब्बाले गुनासो गरिन । दोश्रो किस्ताको लागि १ सय ६८ जना मात्र योग्य भएको सुब्बाले वताईन ।
उनले अनुगमनको क्रममा स्वरोजगार कार्यक्रममा सहभागी मध्ये कसै कसैले भने सिन्को नभाँचेको गुनासो गरिन । सुब्बाले भनिन्–’अब तेश्रो किस्ता दिने बेला भै सक्यो, आजको कार्यक्रममा नआउनेलाई भने विचार गर्नै पर्छ ।’ आफ्नो व्यवसाय कसरी राम्रो वनाउने भन्ने विषयमा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीसंग समन्वय गरेर अघि वढ्न सुब्बाले सुझाव दिईन । जो जस्ले जुनसकै पेशा व्यवसाय अपनाए पनि राम्रोसंग अघि वढाउन जरुरी रहेकोले सिरियस र गम्भिरतापूर्वक काम गर्न सहभागीलाई जोड दिए ।
नेपाल विकास अध्ययन संस्थान (निड्स) का प्रदेश नं.१ का संयोजक महेन्द्र राईले प्रभासबाट फर्किएकाहरुको आय–आर्जनलाई सुनिश्चित गर्न धनकुटा नगरपालिकामा २ वर्ष अघि देखि हातेमालो कार्यक्रम संचालन भैरहेको वताए । उनले हातेमालो कार्यक्रममा सहभागी व्यवसायीहरुलाई पहिलो किस्ता ६५ हजार, दोश्रो किस्ता ३९ हजार, ७ सय ग्लोबल आईएमई वैंक हिले शाखा मार्फत भुक्तानी दिइ सकिएको वताए । उनले तेश्रो किस्ता वापत पुनः हातेमालो कार्यक्रममा सहभागीहरुले पुनः ३९ हजार, ७ सय रुपयाँ अनुदान पाउने बताए ।
संयोजक राईले भने–’तालिमको प्याकेज र व्यवसायलाई आगामी दिनमा थप प्रभावकारी वनाउन सम्वन्धित् वडामा समूह गठन गरिएको छ ।’ धनपा–३ र ४ मा समूह दर्ता भै सकेको छ भने वाँकी वडामा क्रमशः दर्ता गरिने छ । तेश्रो किस्ता अनुदान निकासा भै सकेपछि हातेमालो कार्यक्रम धनकुटा नगरपालिकालाई नै हस्तान्तरण गरिने संयोजक राईले बताए ।
आइओएमसंगको सम्झौता वमोजिम किस्ता उपलब्ध गराउने ग्लोबल आईएमई वैंक हिले शाखाका प्रतिनिधि सुरज मिश्रले वित्तिय साक्षरता सम्वन्धि सहभागी माँझ सहजिकरण गरेका थिए । कार्यक्रममा धनकुटा न.पा.–६ का वडाध्यक्ष छत्रजंङ्ग कार्कीले कार्यक्रमको बारेमा प्रकास पारेका थिए ।

- Dhankutapress