धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाले शनिवार कार्यालय परिसरमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरेको छ ।
बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो ।
कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले वृत्ति परामर्श तथा रोजगार मेलाले रोजगारीको अवसर र रोजगारी सृजना गर्न कोशेढुङ्गा सावित हुने वताए । उनले वेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे । सबै किसिमको कामलाई सम्मान गर्नुपर्ने भन्दै उनले कामका आधारमा कसैलाई पनि विभेद गर्न नहुँने धारणा राखे ।
जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले तीनै तहको सरकार मिलेर व्यवसायीक शिक्षामार्फत रोजगारमुलक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन भएमा रोजगारीको सुनिश्चितता हुने भएकाले सोही अनुसार जनशक्ति उत्पादनमा ध्यान दिन उनको सुझाव छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्यमसिलताको विकासलाई प्राथमिकतामा राखेर उद्यमसितासँगै रोजगारी बृद्धि गर्दै अघि बढ्ने धारणा राखे । मेलामा आवेदन दिएका युवायुवतीलाई थप सिप सिकाएर दक्ष बनाउँने उनले जानकारी दिए ।
धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, सामाजिक विकास मन्त्रालयका शिक्षा योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोख्रेल, धनकुटा बहुमुखी क्याम्पस प्रमुख होमबहादुर बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष बिजयसन्तोषी राई, समृद्धि आयोजनाका जीवन श्रेष्ठ लगायलते वेरोजगार युवायुवतीलाई रोजगारीको वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका छन् ।
मेलामा रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमसहितका १८ वटा स्टल राखिएको थियो । मेलामा रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५ हजारसम्म तलब सुविधा दिने गरी १७० जना कर्मचारी मागसहित विवरण बुझाएका थिए ।
रोजगारीको खोजी गर्दै ४५५ जना व्यक्ति सम्पर्कमा आएकाले उनीहरुलाई रोजगारदाताहरुसँग सम्पर्क गराएर रोजगारीका लागि सहजिकरण गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोग तथा हेल्बेटासको प्राविधिक सहयोगमा आयोजित मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा र सीपमुलक तालिम दिने संस्थाको वारेमा पनि जानकारी गराइएको छ । धनकुटामा पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा स्थानीय उद्योगहरुका उत्पादन पनि प्रदर्शनीका लागि राखिएको थियो ।
रोजगार मेलामा लोकसेवा सम्वन्धी परामर्श दिने स्थल,स्थानिय उद्योगहरुले उत्पादन गरेको उपभोग्य वस्तुहरुको प्रदर्शनी, ग्रील तथा स्टील व्यवसायी संघले रोजगारीको लागि आव्हान गरेका थिए । त्यसैगरी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगर, नविल वैंक हिलेले वृत्ति परामर्श सेवा, उत्तरपानी प्रविधिक शिक्षालय धनकुटा, जलपा देवी मा.वि. पाख्रीवास, माथिल्लो गोकुण्डेश्पर मावि. धनकुटा, साना व्यवसायी परामर्श तथा तालिम केन्द्र प्रा.लि.ले हेटौडालगायत ४० भन्दा वढी सेवा प्रदाय संस्थाहरुले आफ्नो सेवा प्रवाहको वारेमा परामर्श गरेका थिए ।
- Dhankutapress