धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/नेपाल तामाङ घेदुङको ६६ वर्ष लामो इतिहाँसमा पहिलो पटक जिल्ला तहमा महिला नेतृत्वले स्थान पाएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सनिवार सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्वत ढंगले महिला नेतृत्व जिल्ला तहमा चयन गरेको हो ।
धनकुटाको हिलेमा रहेर करिव अडाई दशक अघि देखि सक्रिय रुपमा उद्यमी व्यवसायी भएर विभिन्न सामाजिक संघसंस्थामा सक्रिय महिला पेमा कुमारी लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । घेदुङ जिल्लाको अध्यक्ष पदको लागि नेतृत्व लिनको ४÷४ जनाको उम्मेदवारी दिने प्रत्यासीहरु भैरहेको अवस्थामा सातौं जिल्ला अधिवेशनको वन्दसत्रबाट सर्वसम्मत ढंगले महिला नेतृत्वलाई धनकुटा घेदुङले अघि सारेको हो ।
नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेला तथा अधिवेशनले उपाध्यक्षद्धयमा मंगलसिं तामाङ, सीता तामाङलाई चयन गरिएको छ । त्यसैगरी सचिवमा गजमसिं घिसिङ, सह–सचिवमा सन्तोष तितुङ र कोषाध्यक्षमा करिष्मा तामाङलाई चयन गरिएको छ ।
त्यसैगरी जिल्ला समन्वय समितिको सदस्यहरुमा चन्द्रवहादुर तामाङ, राजेन्द्र गोले तामाङ, असारसिं तामाङ, धनवहादुर तामाङ, तेज वहादुर वम्जन तामाङ (लामा), भैरव तामाङ, कल्पना तामाङ र कृष्ण योञ्जनलाई चयन गरिएको छ । जिल्ला समन्वय समितिको सल्लाहकार संयोजकमा गंगाराम गोम्देनको संयोजकत्वमा ५ सदस्यीय सललाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा सीताराम थिङ तामाङ,फूर्वा घिसिङ तामाङ, धनवहादुर मोक्तान तामाङ लगायतका रहेका छन् ।
नवनिर्वाचित तामाङ घेदुङका पदाधिकारी एवं सदस्यहरुलाई वधाई एवं कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै संघिय अध्यक्ष मोहन गोलेले भने–पहिलो पटक नेपाल तामाङ घेदुङको ६६ वर्ष लामो इतिहाँसमा जिल्ला तहमा महिला नेतृत्वले स्थान पाएको छ । उनले घेदुङमा पहिलो पटक १ नम्वर प्रदेशको पनि धनकुटाबाट शुरुवात भएको छ । यो नेपाल तामाङ घेदुङको संगठन विस्तारको अभियानमा नयाँ आयाम थपिएको वताए । अध्यक्ष गोलेले पालिका स्तरको संगठन भनेको कार्यकर्ता लेवलको संगठन भएको औल्याए ।
उनले अवको दिनमा साँच्चिकै तामाङ जातिको भाषा, संस्कार, संस्कृति यूवा पुस्तामा हस्तान्तरण गर्न टोल, टोलमा घेदुङको संगठन गर्नु पर्नेमा जोड दिए । उनले घेदुङमा कार्यक्रम गर्दा ४० काटेको र ६०÷७० उमेर समुहका मान्छे मात्र समेट्ने गरिएको स्मरण गरे । उनले अहिलेको १५–१६ वर्ष उमेरमका यूवा पुस्तालाई घेदुङको कार्यक्रममा वढी भन्दा वढी सहभागी गराउन जरुरी रहेको औल्याए ।
जिल्ला घेदुङका कार्यवाहक अध्यक्ष गंगाराम गोम्दनको अध्यक्षतामा सम्पन्न सातौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा संघिय समितिका सल्लाहकार सुजेन्द्र गोले तामाङ, संघिय समिति सदस्य विष्णु मोक्तान तामाङ, कोशी प्रदेशका अध्यक्ष रेखवहादुर घिसिङ, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले नेपाल तामाङ घेदुङको ६६ वर्ष लामो इतिहाँसमा पहिलो पटक जिल्ला अध्यक्षमा तामाङ महिलाले नेतृत्व पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
सो अवसरमा ०७९ वैसाख–३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा धनकुटाको विभिन्न पालिकाहरुमा निर्वाचित १४ जना तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा नगरका प्रमुख चिन्तन तामाङ, धनपा–१ का वडाध्यक्ष ओङ्गदा थिङ तामाङ, धनपा–२ का चन्द्रलाल पाख्रीन, पाख्रीवास न.पा.७ का वडाध्यक्ष देवेन्द्र तामाङ, छथरजोरपाटी ग.पा. वडा नं.४ का वडाध्यक्ष टेक वहादुर घिसिङ लगायत १४ जना तामाङ जनप्रतिनिधहरुलाई सम्मान गरिएको थियो । सम्मानति हुनेहरुलाई तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोलेले खदा र सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
कार्यक्रमको उद्धघाटन सत्रमा म्हानिपा घेदुङका आनीहरुले अष्टमंगल पाठ (टाशी ग्यापा) गरेका थिए भने तम्वा संघ धनकुटाका कलाकारहरुले डम्फू सेलो मार्फत साङ्गसेर्गेम स्वस्ती शान्तीको लागि डम्फू वजाएर मंगलपाठ गरेका थिए । अधिवेशनमा जिल्लाको सातै तहका नेपाल तामाङ घेदुङका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- Dhnakutapress