धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
इटहरी/नेपालमा पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भड्किने गरि विभिन्न गतिविधिहरु भैरहँदा अन्तरधार्मिक शान्ति महासंघ नेपाल प्रदेश समितिले भने विभिन्न धर्म तथा सम्प्रदायका धर्मगुरुहरुलाई एकै थलोमा राखेर ‘अन्तरधार्मिक भेला’ आयोजना गरेको छ ।
‘सवै धर्मको एउटै चाहाना, धार्मिक सद्भाव र शान्तिपूर्ण समाजको स्थापना’ भन्ने मूल नाराको साथ नेपालमा पछिल्लो समयमा धार्मिक तथा सामाजिक क्षेत्रमा शान्ति भंङ्ग हुन खोजिरहेको अवस्थामा वृहत शान्ति निर्माणको लागि विभिन्न धर्म सम्प्रदायका धर्महरु एकै थलोमा राखेर सदभाव कायम गर्न ‘अन्तरधार्मिक भेला’ आइतवार इटहरीमा आयोजना गरिएको हो ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यमा सम्पन्न ‘अन्तरधार्मिक भेला’ मा हिन्दु धर्मका राजेन्द्र प्रसाद ढकाल, वुद्ध धर्मका लामागुरु धर्म डुम्जन तामाङको सहभागिता रहेको थियो । त्यसैगरी किराँत धर्मका शब्दी गुरु फिपराज लिम्वू, इस्लाम धर्मका मोहमद अलिहुसेन, प्रेमवादका धर्मगुरु ओशन राई, इशाई धर्मको राजकुमार राई, जैन धर्मका धर्मगुरु विमल जैन लगायत दर्जन भन्दा वढी धर्मगुरुहरुको उपस्थिति रहेको थियो ।
प्रदेश स्तरिय भेलामा उनीहरुले आ–आफ्नो धर्म परम्परा अनुसार छुट्टाछुट्टै शान्तिको लागि धार्मिक प्रवचन राख्नुको साथै शान्तिपाठ समेत गरे । एकै श्वरमा उनीहरुले भने–‘धार्मिक तथा साँस्कृतिक समुदायहरुको बीच सहिष्णुता र सदभाव कायम गर्नु पर्छ ।’ साथै, उनीहरुले विशेष गरेर अन्तरधार्मिक संस्थाहरु र सरोकारवालाहरुको बीच निरन्तर सम्बाद, साझेदारी र सहकार्य गर्दै सह–अस्तित्वको आधारमा धार्मिक सदभाव कायम गर्नु पर्नेमा जोड दिएका छन् ।
धर्मगुरुहरुको भेलामा विशेष गरेर अन्तरधार्मिक शान्ति महासंघ नेपालले अघि सारेको मुल्य मान्यताहरु प्रेम र सद्भाव, सह–अस्तित्व, सह–सम्मान र सहकार्य, साझा सवालमा एकता र भेदभाव रहित समाज निर्माणमा सवै खाले धर्मसम्प्रदायले संयुक्त रुपमा कार्यक्रम बनाएर अघि वढ्नु पर्नेमा जोड दिएका छन् । साथै, धार्मिक तथा सामाजिक सद्भावलाई सुदृढ पार्दे नेपालको समृद्धि र विकासमा टेवा पु¥याउन सक्नु पर्नेमा उनीहरुको जोड थियो ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि लेटाङ्ग नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले भौतिक पूर्वाधारको मात्र विकास गरेर समाजमा शान्ति तथा सुव्यवस्था कायम नहुने बताए । लावतीले भने–’विभिन्न धर्मको धर्मगुरुहरुले वेद, उपनिषद, त्रिपिटक, कुरान आदिमा हजारौ वर्ष देखि शान्ति, मेलमिलाप र भाईचाराको कुरा गर्दै आएकाले शान्तिको लागि अन्तरधार्मिक शान्ति प्रवचन आवश्यक छ ।’
अन्तरधार्मिक शान्ति महासंघ नेपालका संघीय अध्यक्ष रामभक्त कुरुम्वाङ्गले सवैको अस्तित्व बराबरी भएकाले सह–अस्तित्व कामय गर्नु पर्नेमा जोड दिए । उनले भने–’हामी समान पनि छौं, समान भएकाले सम्मानित पनि छौं र सह–सम्मान कामय गर्नु आजको आवश्यक्ता हो ।’ अन्तरधार्मिक भेलाको मुख्य उदेश्य भनेको शान्तिपूर्ण समाज निर्माणको लागि सहकार्य गरेर अघि वढौं भन्ने मुख्य उदेश्य रहेको पनि संघीय अध्यक्ष कुरुम्वाङ्गले स्पष्ट पारे ।
जस्का लागि धार्मिक क्षेत्र त छदै छन् भन्दै कुरुम्वाङ्गले भने–’विभिन्न समाजिक संघ–संगठनहरु, सरकारी निकाय, तिनै तहको सरकारका जनप्रतिनिधिहरुलाई एकै ठाउँमा समेटेर लाने गरी ०६४ साल देखि अन्तर धार्मिक शान्ति महासंघ नेपालले काम गरिरहेको छ ।’ उनले यस्लाई अघि वढाउनको लागि साउथ एसियन शान्ति महासंघ पनि रहेको जानकारी दिए । जस्मा नेपालबाट अन्तरधार्मिक शान्ति महासंघ नेपालका महासचिव डा.महेन्द्र भट्टराईले प्रतिनिधित्व गरेर अध्यक्षको जिम्मेवारी सम्हाली रहेको पनि स्पष्ट पारे ।
अन्तरधार्मिक शान्ति महासंघ नेपाल प्रदेश समितिका अध्यक्ष सम्भू अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरधार्मिक भेलामा विभिन्न धर्म, सम्प्रदायबाट १ नम्वर प्रदेश अन्तरगतका विभिन्न पालिकाहरुमा निर्वाचित उपमेयर तथा उपाध्यक्षहरुलाई पनि प्रतिनिधित्व गराइएको थियो ।
भेलामा पथरी नगरपालिकाका उपमेयर शिवमाया काफ्ले, केरावारी नगरपालिकाका उपमेयर मनमाया मगर, जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, वुढीगंगा गाउँपालिकाका अमृता गच्छादार लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी अन्तरधार्मिक शान्ति महासंघका संघीय सदस्य जमूना सिग्देल, झापा अध्यक्ष रामकुमार राई, मोरङ अध्यक्ष राजकुमारी तामाङ, थारु कल्याण्कारी सभा दुहवी सुनसरीका डिल्लीराम चौधरी, इटहरी नगर घेदुङका अध्यक्ष मोहन लोप्चन तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई लगायतको पनि उपस्थिति रहेको थियो ।
उनीहरुले नेपाल बहुधार्मिक, वहुजातीय, वहुसाँस्कृति र वहुभाषिक राष्ट्र भएकाले सवै धर्म, जाति, संस्कृति तथा भाषाहरु माँझ विगत देखि रहँदै आएको सह–अस्तित्व, सहकार्य आजको दिनमा पनि कायम नै छ, भोलीको दिनमा पनि कायम रहनु पर्छ भन्नेमा जोड दिएका थिए । भेलाको संचालन अन्तरधार्मिक शान्ति महासंघ प्रदेश नं.१ का सचिव चन्द्र घिसिङ तामाङले गरेका थिए ।
यसैविच अन्तरधार्मिक शान्ति महासंघ प्रदेश नं.१ ले केहि समय अगाडी धरानमा उत्पन्न भएको धार्मिक तथा साँस्कृतिक विवादले हामी नेपालीलाई निक्कै संवेदनशिल बनाएको भन्दै अपिल समेत जारी गरेको छ । प्रदेश समितिका अध्यक्ष सम्भू अधिकारीले अपिल वाचन गरी भेला मार्फत जारी गरेका हुन् ।
अपिलको सार यस्तो छ :


- Dhankutapress