धनकुटा प्रेस सम्वादाता
पोखरा /काभ्रेकी कवि हिरामाया घिसिङको कविता ‘योना हाउले होइ’ ले प्रथम स्थान हासिल गरेको छ । कोकोम्हेन्दो साहित्य समाज, पोखराद्वारा आयोजित प्रथम खुल्ला तामाङ मातृभाषा व्हाइखा (कविता) प्रतियोगितामा कवि घिसिङको कविता प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
सोही कविता प्रतियोगितामा काभ्रेकै अर्की कवि रचना मोक्तान ‘यात्री’ को कविता ‘छ्योर्तेन’ ले द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । त्यसैगरी बाराका कवि माधव खतिवडाको कविता ‘व्हाइखा ल्होल्हो’ र ललितपुरका कवि बु्द्धराम थिङ तामाङ ‘तिगा ए तामाङ हिन्ना’ तृतीय हुन सफल भएको छ ।
१५ कविहरूको सिर्जनाका बीच रामेछाप कवि उदय बहादुर लामा कविता ‘उन्मा’ र सिन्धुलीका कवि रुपक ‘जमरा’ को कविता सान्तवना पुरस्कारका लागि छानिएको समाजले जानकारी गराएको छ । प्रतियोगितामा कविहरू ङेमा गोले (काभ्रे), कविराज तामाङ (काभ्रे), बु्द्धिमान तामाङ (सिन्धुली), समिक्षा नेगी (कास्की), लायन लोप्चन (लमजुङ), विवेक थोकर तामाङ (चितवन) ले आ-आफ्नो सिर्जना सामेल गराएका थिए ।
सोनाम ल्होछारको उपलक्षयमा आयोजित प्रतियोगितामा कवि कृष्ण लोप्चन (न्युयोर्क), दुर्गामान तामाङ (लमजुङ) र छिमी घले तामाङ (कास्की) का कविता पनि सामेल थिए । साहित्यकार एवं गीतकार तिर्थ डुम्जन तामाङको संयोजकत्वमा बनेको तीन सदस्यीय आन्तरिक निर्णायक समितिले मुल्यांकनका आधारमा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कवितालाई रु. १० हजार नगद प्रदान गरिने जानकारी निर्णायक समिति सदस्य दिपक वाइबाले दिएका छन् । द्वितीय र तृतीय हुनेलाई क्रमशः ८ हजार र ६ हजार नगद पुरस्कार प्रदान गरिनेछ भने रू सान्तवना पुरस्कार नगद रू. ३ हजारसहित प्रमाण-पत्र हुनेछ ।
कार्यक्रमलाई भव्य ढंगले सम्पन्न गराउन विभिन्न मुलुकबाट सहयोग गर्नुहुने सहयोग शुभचिन्तकहरुलाई समाजले मायाको चिनो सहित सम्मान गर्नेछ । तामाङ मौलिक ज्ञान, संस्कृति र कला साहित्यको उत्थान एवम् ‘अध्ययन, रचना वाचन र प्रकाशन’ को उद्देश्य लिएर विगत चार वर्षअघि समाजको स्थापना भएको थियो । पुरस्कार वितरण कार्यक्रम कोरोना महामारी मत्थर भएपश्चात् स्वास्थ्य मापदण्ड पालना गर्दै पोखरामा भव्य समारोहका बीच रचना वाचनसहित गरिने जानकारी समाजले गराएको छ ।
- Dhankutapress