धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा स्थित् निशान भगवती मन्दिरमा शक्तिस्वरुपा भगवतीको पूजा आराधना गरि चैत्रशुक्ल अष्टमी अर्थात् चैते दशै वुधवार मनाइएको छ ।
चैते दशैँको दिन देवीपुराण, दुर्गा सप्तशती (चण्डी) लगायत देवीमाहत्म्य पाठ गर्ने परम्परा रहेको छ । त्यस्तै पायक पर्ने शक्तिपीठहरूमा देवीको पूजा आराधना गर्ने चलन छ । नवरात्रमा विशेषगरी शक्तिस्वरूपा भगवती नवदुर्गाको पूजा आराधना गरिन्छ । भगवतीका ९ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ ।
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरि पुजा गरिएको छ । नेपाली सेनाको धनकुटा सल्लेरी स्थित् भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरि पुजा गरिएको हो । मौलो पुजामा भीमदल गणका मेजर पूर्ण प्रजापतिले निशान मन्दिरको मौलोमा पूजाआरधना तथा मौलो परिवर्तन गरे । मौलो पुजा गर्दा तथा बलि दिँदा निशानलाई बाहिर निकालेर पुजा गरिएको थियो । पूजा बिसर्जनपछि निशानलाई मन्दिर प्रस्थान गराइएको थियो । पुजामा बलि दिँदा तोप सलामी दिइएको थियो । सो अवसरमा उपस्थित सबैलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।
सो अवसरमा भीमदल गण प्रमुख प्रमुख सुमन थापा लगायत सुरक्षा निकायका प्रमुख तथा स्थानियको उपस्थिति थियो । नेपाली सेनाले दशैँ तथा चैते दशैको अवसरमा हरेक वर्ष निशान भगवती मन्दिरमा मौलो पूजा गर्दै आएको छ । यसै विच नेपाली सेनाको भीमदल गणले धनकुटा–६ स्थित् दक्षिणकाली मन्दिरमा पनि बोका बलि दिएर पुजा आरधना गरेका थिए ।
- Dhnakutapress